काठमाडौं २५ फागुन
सप्तरीमा आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताहरुद्वारा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको घरमा ढुंगामुढा प्रहार भएको छ ।
मोर्चाका कार्यकर्ताहरु उत्तेजित हुँदै एमाले नेताहरुको घर तोडफोडमा समेत उत्रिन थालेका छन् । मोर्चाका कार्यकर्ताले एमाले जिल्ला पार्टी कार्यालयमा तोडफोड गर्दै पार्टीको बोर्ड र झण्डा जलाइदिएका छन् ।
मोर्चाका कार्यकर्ताले एमाले केन्द्रीय सदस्य सुनमनराज प्याकुरेलको राजविराज ४ स्थित घरमा तोडफोड गरेका छन् ।एमाले नेता रामानन्द देवको राजविराज ९ स्थित लिटिल फ्लावर स्कुल र घरमा पनि तोडफोड गरेका छन् । प्रदर्शनकारीहरु एमाले सांसद रञ्जु ठाकुरको घरमा पुगेका थिए ।
मधेसी मोर्चा सप्तरीमा राजविराज घटनाको विरोधमा अनिश्चितकालीन बन्द आहृवान गरेको छ र, एमाले समर्थकलाई सामाजिक बहिस्कार गर्ने चेतावनी दिएको छ ।
यता, राजविराज घटनापछि प्रमुख जिल्ला अधिकारीका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख फेरिएका छन् । पुराना अधिकारीहरु गृह मन्त्रालय हाजिर भइसकेका छन् भने नयाँ सीडीओ र सुरक्षा प्रमुखहरु कार्यक्षेत्रमा पुगिसकेका छैनन् ।
Comments