काठमाडौं १ चैत । सरकारले मन्त्री परिषदको पूर्णता दिने कार्य अन्तिम तयारीमा पुर्याएको छ । गत ३ फागुनमा नै एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेकोमा सरकारलाई पूर्णता दिन नसकेको भन्दै आलोचना समेत बढ्न थालेपछि एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओली र मुख्य सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकारलाई पूर्णता दिन कस्सिएका छन् । दुवै दलभित्र मन्त्री छान्न सकस छ भने संघीय समाजवादी फोरमसँग पनि कुन कुन मन्त्रालय दिने भन्ने प्राविधिक विषय अझै मिल्न सकेको छैन । नेताहरुको अनुसार १/२ दिनभित्रै मन्त्रीपरिषदलाई पूर्णता दिने तयारी छ ।
को–को हुदैछन् माओवादी मन्त्री
एमाले र माओवादी केन्द्रबिच १०–७ मन्त्रालय बाँडफाँड भएको थियो । जसमा एमालेका चार जना र माओवादीका दुई जना मन्त्री नियुक्त भईसकेका छन् । अब माओवादीले ५ जना मन्त्री पठाउनुपर्ने छ । तर, संघीय समाजवादी फोरमलाई एक सिट छाड्न परेमा अब ४ जना मात्र मन्त्री माओवादीले पाउनेछ । माओवादी कपितय नेताले प्रधानमन्त्री कार्यालय मातहत एक मन्त्रालय थप हुने र त्यो एमालेको भागमा जाने भएकाले माओवादीबाट १ मन्त्रालय फोरमका लागि नघट्ने समेत दाबी गर्छन् । यसबारेको तथ्य दुई अध्यक्ष तहभन्दा बाहिर केही आएको छैन ।
यसअघि, माओवादी केन्द्रबाट रामबहादुर थापा बादल, गिरिराजमणी पोखरेल, वर्षमान पुन, मातृका यादव, जनार्दन शर्मा, शक्ति बहादुर बस्नेत, बिना मगर र प्रदेश एकबाट अमनलाल मोदी वा सुदन किराती मध्ये एक जना रहने चर्चा बाहिर आएको थियो । पम्फा भुुसाल, देवेन्द्र पौडेलको पनि नाम चर्चामा छ । त्यसमा बादल र यादव मन्त्री बनिसकेका छन् ।
अब मन्त्री बन्नेमा पुन र पोखरेल पक्कापक्की जस्तै देखिएका छन् । पुनले श्रीमती ओनसरी घर्ती सभामुखमा नदोहोरिएपछि आफैं उर्जा मन्त्रालय लिएर जाने तयारी गरेका छन् । उनी आफैंले चाहेको अवस्थामा प्रचण्डले समेत नरोक्ने नेताहरु बताउँछन् । नारायणकाजी श्रेष्ठ समूहबाट एक जना कोही न कोही पर्ने हुँदा पोखरेल निश्चित जस्तै छन् । उनका लागि शिक्षा मन्त्रालय समेत माओवादीले प्रधानमन्त्री ओलीसँग मागिसकेको छ । ओली त्यसमा सकरात्मक देखिएका छन् ।
प्रचण्डले आफ्नी बुहारी बिना मगरलाई पनि मन्त्री बनाउने तयारी गरेका छन् । तर, बिनालाई फुल मन्त्री दिने तयारी गरेसँगै पार्टीभित्र भने खैलाबैला मच्चिएको छ । महिलाको कोटामा पम्फा भुसाल लगायत प्रभावशाली व्यत्तित्वहरु हुँदा हुँदै बिनालाई ल्याउँदा विवाद हुने तथा प्रचण्ड आफ्नै पनि छबिमा नराम्रो हुने भनेर सुझाव दिइएको पाइएको छ । अब उनी फुल मन्त्री वा राज्यमन्त्री भन्ने टुंगो छैन । जनार्दन र शक्ति मध्ये एक जना मन्त्री हुने वा दुवै जाने भन्ने लफडा छ । दुवै जना मन्त्री बन्न इच्छुक देखिए पनि उनीहरुलाई मात्र मन्त्री बनाउने भनेर विवाद समेत छ । भुसाल र देवेन्द्र मध्ये एक जना मन्त्री बन्ने सम्भावना छ । तर, वर्षमान पुन लगायत नेताहरुले एकताबाट आएको भनेर उनीहरुलाई मन्त्री नबनाउन चर्को लबिङ गरिरहेको पाइएको छ ।
माओवादीले प्रदेश १ र प्रदेश चार जिरो बनाउन खोजेको छ । तर, प्रदेश चारबाट मन्त्री हुने अवस्थामा देवेन्द्र पौडेल छन् भने प्रदेश एकबाट अमनलाल मोदी र सुदन किराती छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।