काठमाडौं । केही महिना अघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेनेजुयलाको विषयमा निकालेको विज्ञप्तिले कुटनीति भूकम्प गएको थियो । अमेरिकाले नेपालको धारणा के हो भनेर नेपाल सरकारसँग स्पष्टिकरण माग्न बाध्य भएको थियो । अतः त्यतिबेला प्रचण्डको वक्तव्यले अमेरिका झस्किन पुगेको थियो । फेरि अमेरिका एक पटक झस्किन पुगेको छ ।

चीनका विदेश मन्त्री वाङ यी मंगलबार काठमाडौंबाट बेइजिङ उडेपछि निकालिएको विज्ञप्तिमा ‘नेपाल असंलग्न नीतिलाई पूर्ण रूपमा अंगिकार गर्छ र अमेरिकाको तथाकथित इन्डो प्यासेफिक रणनीतिलाई अस्वीकार गर्छ। कसैले चीनको विकास रोक्न प्रयास गरे विरोध गर्छ, चीनको विकास नेपालका लागि अवसर हो भन्नेमा सधैँ विश्वास गर्छ र चीनको सफल अनुभवबाट सिक्न चाहन्छ,’ भन्ने प्रचण्डको भनाई उदृत गरिएको छ ।

त्यसै विषयमा अमेरिकाले नेपाल सरकारको धारणा माग गरेको बुझिएको छ । काठमाडौंस्थित अमेरिकी राजदूतावासले नेपाल सरकारको धारणा बेइजिङको विज्ञप्तिबाट थाहा पाउनु अचम्मको कुरा भएको जनाएको सेताेपाटीले समाचार प्रकाशित गरेकाे छ ।

एउटा रोचक कुरो चाँही के भने भारतका विदेशमन्त्री भर्खरै मात्र काठमाडौं आउँदा होटलमा भेट्न नगएका प्रचण्ड चीनका विदेशमन्त्रीलाई भेट्न भने होटल नै पुगेका थिए । मंगलबार बिहान प्रचण्ड र यीबीच राजधानीको होटल मेरियटमा भेटवार्ता भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।