पूर्वराजा ज्ञानेन्द्रलाई घुम्न नदिन दुई दिने बन्दको घोषणा

असार ५ । पूर्व राजा ज्ञानेन्द्र शाहलाई घुम्न नदिनका लागि दुई दिने धनुषा र महोत्तरी बन्दको घोषणा गरिएको छ ।

ज्ञानेन्द्रको भ्रमण प्रभावित हुने गरी जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन समूहले दुई दिने बन्दको आह्वान गरेको हो ।

मोर्चाले शोषण र उत्पीडनमा परेका मधेसी जनतालाई फेरी पूर्व राजा ज्ञानेन्द्रले सत्तामा आउने भर्याङको रुपमा प्रयोग गर्न चाहेको भन्दै आज र भोलि दुवै जिल्ला बन्दको घोषणा गरेको हो ।

यता, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ज्ञानेन्द्र समेत राष्ट्रपति हुनसक्ने भनिरहेका बेला उता भने उनको भ्रमण बिथोल्ने प्रयास भईरहेको हो ।

धार्मिक भ्रमण भन्दै पूर्वी तराईका जिल्लाहरुको भ्रमणमा रहेका ज्ञानेन्द्रले यसअघि शुभचिन्तक तथा सञ्चारकर्मीहरुसँग राजनीतिक विषयमा नबोल्ने गरे पनि मंगलबार रौतहट पुगेका उनले समय आएपछि आफूले केही गर्ने प्रतिक्रिया दिएका थिए ।

यसैबीच, पूर्वराजा ज्ञानेन्द्र आज जनकपुरमा हुने नागरिक अभिनन्दन कार्यक्रममा सहभागी भई सम्बोधन गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

उनी आज बिहान ११ बजे सिमराबाट जनकपुर पुग्नेछन् । जनकपुर पुगेपछि सोझै जानकी मन्दिर पुगेर पुजाआज गर्ने र अपराह्न ३ बजेतिर जनकपुरको होटल मानकीमा पुग्ने कार्यक्रम रहेको छ । त्यहाँ रहँदा उनले स्थानीयसँग भेटघाट गर्ने कार्यक्रम समेत रहेको बताइएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।