मंसिर २७ – एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गालामा झापड हानेर चर्चामा आएका पदम कुँवरले आफूलाई मानसिक हस्पिटलमा लगेर बेहोस हुने सुई लगाएर समेत बयान लिएको बताएका छन् ।
प्रहरी नियन्त्रणमा रहँदा आफूलाई पाँच पटक बयान लिएको जानकारी दिँदै त्यसमध्ये एक पटक भने मानसिक अस्पतालमा आफूले के के बोले भन्ने कुरा थाहै नहुने सुई लगाएर बयान लिएको बताए ।
जेलबाट छुटेपछि उनले आज एक कार्यक्रममा मन सम्हाल्न नसकेर प्रचण्डलाई झाप्पु हानेको पनि बताए ।
उक्त घटना कुनै नियोजित होइन रिपोर्टर्स क्लबमा आज आयोजित कार्यक्रममा बोल्दै उनले भने रत्नपार्कमा सस्तोमा कपडा पाइन्छ भनेर किन्न गएको थिए त्यही चियापान कार्यक्रम रहेको थाहा पाए । अनि म पनि त्यहाँ पुगेर अरु जस्तै लाइनमा बसे, लाइनमा बस्दा एकदमै मनमा अन्तरद्वन्द्व भयो । विगतदेखि अहिलेको राजनीतिक अवस्थासम्म सम्झिए मैले मनै थाम्न सकिन अनि हिर्काएको हो ।
सो कार्यक्रममा उनले आवेगमा आएर थप्पड हानेको भन्दै प्रचण्डसँग माफी पनि मागे । माफी माग्दै उनले भने मैले कसैको उक्साहटमा झाप्पु हानेको होइन म आवेगमा आएर हानेको हो ।
प्रचण्डले धरौटी दिएर छुटाएकोप्रति आफू सकरात्मक नै रहेपनि २६ दिनसम्म नै प्रहरी नियन्त्रणमा राखेको, चाहेको भए २८ हजार माग नै नगरी पनि छुटाउन सक्नुपर्ने तर देश विदेशबाट आफूलाई छुटाउन पैसा जम्मा भईसकेपछि मात्रै प्रचण्डले पहल गरेको जस्ता विषयमा आफ्नो परिवार भने असन्तुष्ट रहेको समेत जानकारी गराए ।
पत्रकारहरुसँग उनले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आफूलाई कुट्नेलाई समेत धन्यवाद दिए ।
अब तपाई राजनीतिमा लाग्नु हुन्छ भन्ने प्रश्नमा भने उनले यो देशमा राजनीति गर्ने नेताको खाँचो नरहेको भन्दै नेताहरुलाई घचघचाउन सामाजिक संगठनको चाँही खाँचो रहेको समेत उनले बताए ।







