काठमाण्डौ, ३ कात्तिक
पटक–पटक आग्रह गर्दा पनि सहमति जुटाउन नसकेको भन्दै राष्टपति डाक्टर रामबरण यादबले सहमतीकालागि दलहरुको पुनः ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रपतिको सम्बोधनको पूर्ण पाठ
चाडवाडको मुखमा समेत दुःख दिएको भनी अन्यथा मान्नु हुने छैन भन्ने विश्वासका साथ यहाँहरु सवैलाई पुनः स्वागत गर्छु । तपाईहरुलाई बारम्बार यहाँ बोलाई पट्यारलाग्दो किसिमले राजनीतिक निकास र सहमतिका निम्ति आग्रह र अनुनय गर्नु – मेरो रहर नभई नैतिक दायित्व र वाध्यता भएको तथ्यलाई यहाँहरुले बुझिदिनु हुनेछ भन्ने आशा गर्छु ।
आजभन्दा ५४ महिना पहिले भएको संविधानसभाको निर्वाचन मार्फत् नेपाली जनताले आफ्नै प्रतिनिधिद्वारा निर्मित संविधान प्राप्त गर्ने आकांक्षा प्रकट गरेका थिए । तर संविधान नै नबनाई त्यो संविधानसभा भंग भएको पनि आज पाँच महिना भई सकेको छ । मुलुक र जनताले नयाँ स्थाई संविधान अव कसरी कहिले र कुन माध्यमबाट पाउने हुन् रु आगामी मंसीर ७ गतेको निम्ति प्रस्ताव गरिएको निर्वाचनको भविष्य समेत अनिश्चित भएको अवस्थामा यो प्रश्न अरु जटील र गंभीर हुन पुगेको छ ।
मुलुक अहिले अन्तरिम संविधान, २०६३ ले परिकल्पना नै नगरेको अवस्थामा छ । परिणामतः संवैधानिक र कानूनीका साथै राजनीतिक र आर्थिक अप्ठ्यारा पैदा भएका छन् । संवैधानिक नियुक्तिहरु समयमा हुन नसक्दा कतिपय क्षेत्रमा कानूनी र व्यवाहारिक कठिनाईहरु देखा पर्दैछन् । दैनिक शासन–प्रशासन संचालनका क्रममा आइपर्ने वाधा–अड्चनहरु संविधानको भावना अनुरुप अध्यादेशको माध्यमबाट फुकाउन नसकिने होइन । तर, जननिर्वाचित संसद नभएको अवस्थामा अध्यादेशको अस्वभाविक प्रयोगले हाम्रो लोकतान्त्रिक पहिचान र प्रतिवद्धतालाई कमजोर पार्न दिनु हुँदैन । यसैकारण अध्यादेशको किफायति र विवेकपूर्ण उपयोगका निम्ति राजनीतिक शक्तिहरु बीच न्यूनतम सहमति कायम होस् भन्ने मेरो आग्रह हो । यो आग्रहलाई आज पनि दोहो(याउँछु ।
हाम्रो संविधानसभा आफैंमा ऐतिहासिक थियो । त्यो लोकतान्त्रिक विधिबाट चयन भएको थियो, त्यसलाई विश्वव्यापी मान्यता र सहयोग प्राप्त थियो, त्यो धेरै दृष्टिबाट समावेशी पनि थियो । सर्वोच्च अदालतको स्पष्ट निर्देशन हुँदाहुँदै पनि त्यस्तो सार्वभौम संविधानसभाको अप्रत्याशित अवसान पछि उत्पन्न राजनीतिक र संवैधानिक गतिरोध अन्त्य गर्न अन्तरिम संविधानको मर्म अनुरुप राजनीतिक शक्तिहरु बीच सहमति कायम गर्नुको विकल्प आज पनि छैन । यसै कारण नै मैले सवै दलहरुलाई एकै ठाउँमा जुटाई आपसी संवाद, सहकार्य र सहमतिका निम्ति पटक पटक आग्रह गर्दै आएको हूँ ।
मुलुकका चुनौतीप्रति म आफूमात्रै चिन्तित छु, तपाईहरु चिन्ता गरिरहनु भएको छैन भन्ने भ्रम ममा छैन । तपाईंहरुका अप्ठ्यारा र सीमाहरुको अनुभव म पनि गरिरहेको छु । तथापि, यस अघिको बैठकपछि यहींबाट केही प्रमुख दलहरुले छलफलको क्रम शुरु गरेर निर्वाचनको स्वरुप र प्रक्रियाका बारेमा संैद्धान्तिक सहमति गरेको जानकारी सार्वजनिक भएकै हो । त्यस्तै, चुनावको मिति, सभासद्को संख्या र सहमतिको सरकारका बारेमा असोज मसान्त भित्र सहमति कायम गरिसक्ने बचन पनि जनताले तपाईहरुबाट नै पाएका हुन् । यति हुँदा हुँदै पनि, मुलुकले आज सामना गर्नु परेका राजनीतिक अन्यौल, संवैधानिक गतिरोध र बजेट लगायतका समस्याहरु थप जटील बन्न नपाउन् भन्ने उद्देश्यले म तपाईहरुलाई यसरी पुनःपुनः घच्घच्याउन वाध्य भएको छु । यसर्थ म आज फेरि पनि आग्रह गर्छु, सहमतिका आधारमा नयाँ संविधान निर्माण गरेर मुलुकको मूल गन्तव्यसम्म पुग्ने राजनीतिक एवं संवैधानिक मार्ग तय गर्न यथाशीघ्र तत्परता दर्शाइ दिनुहोस् । यस अघि पनि मैले भनेकै हूँ – यदि सहमति निर्माणमा मेरो कुनै भूमिका हुने भए त्यो पनि तपाईंहरुले नै भन्नु पर्छ । मुलुकलाई अन्यौल र अनिश्चयको स्थितिबाट समाधानको बाटो तर्फ उन्मुख गराउने तपाईहरुको प्रयासमा मेरो सधैं साथ र सद्भाव रहँदै आएको छ । राजनीतिक सहमतिमा आधारित निकासका उपायहरु संवैधानिकताको मान्यता अनुरुप हुने कुरामा म विश्वस्त छु ।
लामो समय देखि नयाँ लोकतान्त्रिक संविधानको प्रतिक्षा गर्दै आउनु भएका नेपाली दाजुभाई–दिदीबहिनीहरुको असिम धैर्यको हार्दिक प्रशंसा गर्दै उहाँहरुप्रति राजनीतिक दलहरु मार्फत आभार प्रकट गर्दछु । आशा गरौ, मुलुकले छिट्टै राजनीतिक निकास पाउने छ र हाम्रा आगामी दिनहरु उज्जवल हुने छन् ।
तपार्इंहरु सवैलाई विजया दशमी, शुभ दिपावली र छठ पर्वको हार्दिक शुभकामना । मुलुकलाई शान्ति र समृद्धि तर्फ डो¥याउन अत्यावश्यक राजनीतिक निकाश दिन तपाईंहरुलाई सफलता मिलोस् भनी विशेष कामना गर्दछु ।







