गोरखा, कात्तिक ३ – यसवर्षको लिगलिगे दौडको उपाधि नेपाली सेनाका समीर तामाङले ५९ मिनेट १ सेकेण्ड जितेका छन् ।
पालुङटार गाविसको मर्स्याङ्दी र चेपेनदीको दोभानदेखि लिगलिगकोटको मूलगढीसम्मको १३ दशमलब ५ किलोमिटर लामो दौडमा सेनाकै कल्याण बानियाँ दोश्रो र सेनाकै होमलाल श्रेष्ठ तेश्रो भएका छन् ।
दौडमा पहिलो हुनेले ५० हजार ५ सय, दोश्रो हुनेले २५ हजार २ सय र तेश्रो हुनेले १० हजार एकसय रुपैयाँ पुरस्कार पाएका छन् । लिगलिगकोट विकास अभियानको आयोजना र कन्सेप्ट नेपालको संयोजनमा भएको प्रतियोगितामा राष्ट्रिय र स्थानीय स्तरका गरी १ सय जना धावक सहभागी भएका थिए ।
यसैगरी महिला तर्फको उपाधि ओखलढुङ्गाकी गीता खत्रीले जितेकी छन् । भक्तपुरकी रिता कपाली दोश्रो र एनबी शेर्पा तेश्रो भएकी छन् ।
स्थानीय स्तरका धावक र भेट्रान धावकहरुमा पनि पहिलो दोश्रो तेश्रो हुनेलाई पनि पुरस्कृत गरिएको छ । सत्रौ शताब्दीमा हरेक दशैंमा राजा चयन गर्दा दौड जित्नुपर्ने परम्परालाई सम्झिंदै ऐतिहासिक महत्व कायम राख्न २०६७ सालदेखि हरेक वर्ष लिगलिगे दौड प्रतियोगिता आयोजना गरिंदै आएको छ ।







