काठमाडौं २८ साउन
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्व एमाओवादी उपाध्यक्ष समेत रहेका नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई भेटेर पार्टी एकताको प्रस्ताव गरेका छन् ।
अप्रेसनपछि बेडरेष्टमा रहेका नेता भट्टराईलाई भेट्न अध्यक्ष अध्यक्ष दाहाल शनिबार दिउँसो टोखास्थित भट्टराई निवासमा पुगेका थिए । दुई घण्टा लामो छलफलमा दुई नेताबीच समसामयिक राजनीतिकका विषयमा कुराकानी भएको दाहालको सचिवालयले जनाएको छ ।
भेटमा दाहालले माओवादी शक्तिहरु कमजोर बन्दै गएको र परिवर्तनका एजेण्डाहरु समेत उल्टाउने प्रयास भईरहेको भन्दै पार्टी एकता गरेर अघि बढ्न प्रस्ताव गरेका थिए ।
नेता भट्टराईलाई दाहालले पूर्व माओवादी र अग्रगामी धाराहरु बीचको एकतामा जोड दिँदै त्यसका लागि गम्भीर रुपले सोच्न नेता आग्रह गरेका थिए ।
दुई नेताबीच समग्र विषयमा गम्भीर समीक्षा गरेर अगाडि बढ्न छलफललाई जारी राख्ने समझदारी भएको बताइएको छ ।
दाहालले देशको जटिल राजनीतिक परिस्थितिलाई विचार गरेर माओवादीहरु एक हुनैपर्ने कुरामा जोड दिँदै सम्पूर्ण राजनीतिक परिस्थितिमा समीक्षा गरेर जान आफूहरु गम्भीर रहेको नेता भट्टराईलाई बताएका थिए ।
भेटमा नेता भट्टराईले समग्र विषयमा समीक्षा गरेर निष्कर्षमा पुग्न सकिने बताउँदै त्यसका लागि छलफललाई जारी राख्ने बताएका थिए ।
Comments








