जेठ २५ – परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत चैत ७ देखि १६ गतेसम्म सञ्चालन गरेको प्रवेशिका अर्थात् एसएलसी परीक्षाको नतिजा असारको पहिलो साता प्रकाशन गर्ने भएको छ ।
कार्यालयका उपनियन्त्रक अम्बिकाप्रसाद रेग्मीले एसएलसी परीक्षाको नतिजा असारको पहिलो सातासम्म सार्वजनिक गर्ने तयारीमा जुटिएको जानकारी दिए ।

मुलुकभर सञ्चालित परीक्षाको उत्तरपुस्तिका विभिन्न केन्द्रबाट सङ्कलन गरी कार्यालयमा ल्याएर कोडिङ गर्न थालिएको बताउँदै उहाँले अबको दुई सातासम्ममा परीक्षाफल प्रकाशन गरिने जानकारी दिए ।

यस वर्षको एसएलसी परीक्षामा नियमिततर्फ चार लाख ४५ हजार ९७४ र एक्जाम्टेडतर्फ ८२ हजार २८३ जना गरी  कुल पाँच लाख २८ हजार २५७ परीक्षार्थी  सहभागी थिए ।

कार्यालयले बुधबार एसएलसी परीक्षाको परीक्षाफल सार्वजनिक भएको भन्ने गलत सूचना प्रवाह भएकाले कार्यालयका कर्मचारी र विद्यार्थीलाई तनाब भएको जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।