काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी भन्दा एमालेका उपाध्यक्षद्धय अष्टलक्ष्मी शाक्य र भिम रावल सचिवालयमा अटाएनन् । बरु सचिव विष्णु पौडेल महासचिव बने । मुख्यमन्त्री छान्ने क्रममा बागमती प्रदेशमा शाक्य निर्विरोध जस्तै थिइन् तर अध्यक्ष केपी शर्मा ओलीले शाक्यलाई हराउनकै लागि डोरमणी पौडेललाई उठाए र जिताए । यी सबै आफ्नै आँखा अगाडी देखिरहेका बरिष्ठ नेता माधव नेपालले विधि नमिलेको भनेर उनै शाक्य र रावलका लागि लडे । उनीहरुकै लागि लडेकै कारण अध्यक्ष केपी शर्मा ओलीसँग टाढिनु पर्यो, यतिसम्म कि पार्टी विभाजन नगरी नहुने अवस्था सिर्जना भयो ।

जब पार्टी विभाजन हुने अवस्था आयो त्यति ओली पक्षले शाक्यलाई मुख्यमन्त्री बनाउने प्रस्ताव ल्यायो । शाक्यले यतिबेलासम्म माधव नेपालले लगाएको गुनको कुनै प्रवाह नै नगरी पद र पावरका पछि कुदिन् । बुधबार नेपालले नयाँ पार्टी दर्ता गर्दै गर्दा अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीकाे कुर्सीमा पुगेकी छिन् । उनले नेपाललाई धोका दिँदा उक्त मुख्यमन्त्री पद उपहार मिल्न पुगेकाे चर्चा व्यापक छ ।

मुख्यमन्त्री डोरमणी पौडेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले बहुमतप्राप्त पार्टीको संसदीय दलका नेताका रुपमा शाक्यलाई मुख्यमन्त्री नियुक्त गरिएको हो । उनले बुधबार नै सपथ लिएकी छिन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।