परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई आजदेखि काठमाडौं उपत्यकामा कोरानाविरुद्धको खोप लगाइने भएको छ। कक्षा ११ र १२ सहित विश्व विद्यालय तहको परीक्षाको तयारीमा रहेका विद्यार्थीलाईसमेत प्रवेशपत्रको आधारमा चिनियाँ भेरोसेल खोप लगाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार १८ वर्षमाथिका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीका साथै विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका सबै विद्यार्थीलाई कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउन लागिएको हो। यो अभियान आज, भोली र पर्सी तीन दिन चल्ने छ।

त्यसैगरी ४० वर्षमाथिका सबै नागरिकलाई पनि भेरोसेल खोप दिइने मन्त्रालयले जनाएको छ। मन्त्रालयले खोप लगाउन केन्द्र पनि तोकेको छ। सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीरेन्द्र सैनिक अस्पताल छाउनी, राधास्वामी आइसोलेशन सेन्टर, सामाखुसी, नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, वीर अस्पताल रत्नपार्क तथा निजामती कर्मचारी अस्पताल, नयाँ बानेश्वर, परोपकार प्रसूति गृह थापाथली, शिक्षण अस्पताल, महाराजगञ्ज र काठमाडौ महानगरपालिकाका ३२ वटा वडा तथा आवश्यकता अनुसार पालिकाले तोकेको थप खोप केन्द्रमा गएर यो खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले गएको साउन ३१ गतेदेखि सञ्चालन गर्ने भनेको कक्षा १२ को परीक्षा अनिश्चित कालसम्मको लागि स्थगित गरेको छ। विद्यार्थीलाई खोप दिएपछि मात्रै परीक्षा सञ्चालन गरिने सरकारले जनाएको छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।