काठमाडौं महानगर फोहोरको डंगुरमा डुब्दै, मेयर शाक्य बाजा बजाएर कर उठाउँदै

काठमाडौं । काठमाडौँमा फोहोर थुप्रिएपछि महानगरभरी जताततै फोहोरको डंगुर लाग्न थालेको छ । गत सोमबारदेखि थुप्रिएको फोहर व्यवस्थापनको निकास अझै निस्किएको छैन । महानगरवासीका घरघरमा फोहर थुप्रिएको आज १० दिन पुगेको छ । महानगरपालिकाले फोहरको व्यवस्थापन गर्न नसक्दा यहाँका बासिन्दा समस्यामा परेका हुन् । नियमितरुपमा पानी परिरहेकाले फोहर व्यवस्थापनमा थप समस्या भएको काठमाडौँ महानगरपालिका वातावरण विभागले जनाएको छ ।
काठमाडौं महानगर फोहोरको थुप्रोमा डुब्दै गर्दा यसको समाधानमा लाग्नुपर्ने महानगरपालिका भने बाजागाजासहित कर उठाउने तयारीमा छ । महानगरपालिकाले सम्पत्ति कर नतिर्नेहरुको घर आँगन तथा कार्यालय परिसरमा भोलि(बुधबार) देखि पञ्चेबाजा बजाउने तयारी गरिरहेको छ । फोहोरको डंगुर वरीपरि नै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कर उठाउन पञ्चेबाजा बजाउन लाग्दै गर्दा फोहोरले भने उल्टै गिज्याउने देखिएको छ ।

उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापन गरिँदै आएको सिसडोल भरिएको र दीर्घकालीन व्यवस्थापनस्थल निर्माण सम्पन्न नहुँदा समस्या थप चुलिएको हो । विगत एक हप्तादेखि उपत्यकाको फोहर नियमितरुपमा उठ्न सकेको छैन । गत साउन ३२ गते नै कामपाले सार्वजनिकरुपमा सूचना जारी गरेर नगरवासीलाई एक हप्ता घर बाहिर फोहर ननिकाल्न आग्रह गरेको थियो ।

सूचना निकालेको पनि एक हप्ता भयो, अझै साविकको जस्तो फोहर व्यवस्थापन हुन सकेको छैन, जसले गर्दा नदी किनार र सडक छेउछाउमा दुर्गन्ध फैलिएको छ ।
सिसडोलमा विसं २०६२ मा दुई वर्षको फोहर व्यवस्थापन गर्न सकिने क्षमताको ल्याण्डफिड निर्माण गरिएकामा पटक पटक विस्तार गरेर अहिलेसम्मको फोहर व्यवस्थापन गरिँदै आएको छ । हरेक दिन उपत्यकाबाट दैनिक एक हजार २०० मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । जसमा सबैभन्दा बढी कामपाको ५०० मेट्रिक टन रहेको छ । निजी र कामपाको गरी २०० गाडी फोहर लाने गरिएकामा अहिले दैनिक ५० गाडी मुस्किलले सिसडोल पुग्ने गरेका छन् ।

हाल फोहर व्यवस्थापन गरिँदै आएको सिसडोलभन्दा दुई किलोमिटर टाढा बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापन गर्न ल्याण्डफिल निर्माण कार्य भइरहेको छ । तर ढिलासुस्तीका कारण उक्त ल्याण्डफिल्ड कहिले निर्माण सम्पन्न हुने भन्ने निश्चित छैन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।