काठमाडाैं १३ भदाै । प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक कोष र सार्वजनिक अधिकार प्रयोग गर्ने पदाधिकारीले पारदर्शी, उत्तरदायी एवम् कानुनसम्मत् ढङ्गबाट कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्रीले सरकारी आर्थिक कारोबार गर्दा वित्तीय अनुशासन कायम गर्ने, खर्चको औचित्य एवम् उत्पादकत्व वृद्धि सुनिश्चित हुने गरी आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व बहन गर्न निर्देशन दिए ।
प्रधानमन्त्री देउवाले सार्वजनिक खरिद र सुशासनलगायत प्रचलित कानुनको पालना गर्न मुख्य सचिव एवम् सचिवहरूलाई निर्देशन दिए । महालेखा परीक्षकको कार्यालयले आज आर्थिक वर्ष २०७६/७७ को लेखा परीक्षणको प्रतिवेदनका सम्बन्धमा आयोजना गरेको कार्यक्रममा उनले सुशासन र कानुनको परिपालनामा स्पष्ट भएर काम गर्न आग्रह गरेका छन् । सो अवसरमा महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालले आफ्नो प्रस्तुति दिएका थिए ।
सो अवसरमा प्रधानमन्त्रीले वित्तीय कारोबार गर्ने र सार्वजनिक पदमा रहेका राष्ट्रसेवकले आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउन, जनअपेक्षाअनुसार सार्वजनिक स्रोतको परिचालन गर्न ध्यानकर्षण गराए । प्रधानमन्त्रीले महालेखा परीक्षकको कार्यालयले तयार पारेको प्रतिवेदनमा औँल्याइएका विषयमा नतिजा देखिने गरी सुधार गर्दै जान सबै सचिवलगायत जिम्मेवार पदाधिकारी दत्तचित्त भएर लाग्नुपर्नेमा जोड दिनुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।