काठमाडौं १७ भदौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टीको आसन्न १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले आज पत्रकार सम्मेलन गरी सभापति पदमा उम्मेदवारी घोषणा गर्नुका साथै आफ्ना योजनाबारे समेत जानकारी गराएका छन् ।
पार्टीमा अब युवा वर्गबाट नेतृत्वमा हस्तक्षेप हुनुपर्ने बताउँदै उहाँले एक व्यक्ति एक पद र कुनै पनि पदमा दुई कार्यकाल मात्र हुनुपर्ने आफ्नो योजना रहेको सुनाउनुभयो । युवा नेता गुरुङले भने, “अहिले कांग्रेसमा महिला, आदिवासी÷जनजाति, दलित, मधेसी, पिछडिएको समुदाय र खसआर्यका नाममा सीमित व्यक्तिले मात्र सदैव आरक्षणको सुविधा लिइरहेका छन्, यस्तो अवस्थामा नयाँले कहिले अवसर पाउने ?”

नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्षसमेत रहनुभएका उहाँले आफू पार्टी नेतृत्वमा आए पार्टीभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था गर्ने योजना रहेको बताउँदै शिक्षा र स्वास्थ्य क्षेत्रलाई सहज पहुँचयोग्य बनाउने दृढता व्यक्त गरेका छन् । उम्मेदवारी घोषणालाई कुनै पनि नेताले सौदाबाजीको साधन बनाउन नहुने धारणा व्यक्त गर्दै उनले आफू जुन पदमा घोषणा गरे त्यही पदमा मात्र उम्मेदवारी दिने विश्वास दिलाए। पार्टीको क्रियाशील सदस्यतामा युवा वर्गको उल्लेख्य सहभागिता देखिएको अहिलेका नेताबाट सन्तुष्ट हुन नसकेको नेता कार्यकर्ताको आफूलाई सहयोग हुने उनको अपेक्षा थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।