बरिष्ठ पत्रकार हरिबहादुर थापा र कार्टुनिष्ट रविन सायमीद्धारा पदक अस्वीकार

काठमाडौं ३ असोज । बरिष्ठ पत्रकार हरिबहादुर थापा र कार्टुनिष्ट रविन सायमीले सरकारले घोषणा गरेको पदक अस्वीकार गरेका छन् । इकागज डटकमका प्रधान सम्पादक थापाले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै सुप्रबल जनसेवाश्रीमा १२ नम्बरमा उल्लिखित पदक अस्वीकार गर्ने घोषणा गरेको जनाएका छन् ।

उनले विगतमा आफूलाई पदका लागि पटक पटक सोधिएको र अस्वीकार गरिआएको जानकारी गराउँदै यस पटक नसोधी नाम हालेको बताएका छन् ।
‘मैले मानपदवी, अलंकारा, पदकको विकृति, पदक पाउनेको सार्वजनिक सुयोग्यताबारे समाचार, विश्लेषण पुस्तकमार्फत लामो समयदेखि प्रश्न उठाइरहेको छु’, उनले भनेका छन् , ‘राज्यले सम्मान नै गर्नुहुन्न भन्ने होइन, तर सम्मान स्वयं सम्मानित हुने गरी मात्र सम्मान हुनुपर्छ, कोही किन पदक पाउँछ वा दिइन्छ भन्नेबारे खुला बहस हुनुपर्छ, विधि लोकतान्त्रिक पारदर्शी हुनुपर्छ ।’

यता, सायमीले पनि सामाजिक सन्जालमार्फत पदक ग्रहण नगर्ने घोषणा गरेका हुन् । सायमीले लेखेका छन्, ‘सरकारले मलाई प्रवल जनसेवा श्रीबाट विभुषित गर्ने निर्णय गरेको रहेछ । तर हाललाई यो विभूषण ग्रहण नगर्ने निर्णय गरेको छु ।’ उनले आफू ‘स्वतन्त्र रुपमा पत्रकारितालाई सहयोग गर्ने मान्छे भएको जनाउँदै पदक वितरण दलीय प्रभावबाट मुक्त हुन नसकेकाले नलिने घोषणा गरेको जनाएका छन् । सातौँ संविधान दिवसको अवसरमा सरकारले ९ सय बढीलाई विभिन्न पदबाट विभूषण गर्ने निर्णय गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।