सरकार ज्यान जोखिममा राखेर काम गरेका यस्ता व्यक्तिहरुले पदक पाउन के गर्नुपर्छ ?

काठमाडौं ४ भदौ । यी माथिका तस्बीरहरु कुनै फिल्म वा नाटक मञ्चनबाट लिएका हैनन् । न त नेपाल र नेपाली भन्दा फरक नै छ । यी तस्बीरहरु त कोरोना महामारीमा आफ्नो ज्यान नै दाउमा राखेर कोरोना नियन्त्रण गर्ने बेला तल्ला तहका कर्मचारी, तथा स्वास्थ्यकर्मी फिल्डमा खटिएको अवस्थाको हो ।
सरकारले हिजो मात्र संविधान दिवसको अवसरमा ९ सय बढीलाई विभिन्न पदकबाट विभूषित गर्ने घोषणा गरेको छ । त्यस्ता पदकले यसरी काममा खटिने कर्मचारी तथा स्वास्थ्यकर्मीलाई भने गिज्याइरहेको छ । ती पदक पाउन यसरी सर्वसाधरणको खातिर ज्यान नै जोखिममा खटिनेहरु औंलामा अटाएका छन् ।
पदक पाउनेमा १०५ जना स्वास्थ्यकर्मी समेत समेटिएका छन् । जसमा धेरै जना पदकका योग्य पनि छन् । तर, त्यसमा पनि शक्ति र पहुँचवालाको वर्चस्व स्पष्टै देख्न सकिन्छ । जो शक्तिकेन्द्रसँग नजिक छैनन् । जसले इमान्दारितासाथ काम गरेका छन्, तर आसेपासे नभई चाप्लुसी दलाली गरेका छैनन् तिनीहरु यस्ता पदकको भागिदार बन्न अयोग्य जस्तै देखिएका छन् ।

सरकारले कुनै मापदण्ड बिना नै पदक वितरण गर्दा आसेपासे र पहुँच र शक्ति केन्द्रमा रहेकाहरुको हालीमुहाली छ । कतिपयले प्रश्न पनि उठाउने गरेका छन्, इमान्दारसाथ जिम्मेवारी पूरा गर्नेहरुले यो पदक पाउन आसेपासे वा शक्तिकेन्द्रमा नै धाउनुपर्ने हो ? यो पदक पाउने योग्यता हुनुपर्दैन ? मापदण्ड खै ? यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नी छोरीहरुलाई पदक दिलाएकी थिइन् । यसपटक पनि नेताका बुवा श्रीतमी, आसेपासे, नरनाता, चाँकडी गर्नेहरुको पदक पाउने सूचीमा नाम समेटिएको छ ।

पञ्चायतकाल र राजतन्त्रकालिन समयमा यसरी नै आसेपासेहरुलाई विभिन्न नाममा पदक भाड्ने गरिन्थ्यो । गणतन्त्रमा पनि त्यसकै सिको गरेर अहिले पनि आसेपासे र शक्ति र पहुँचमा भएकाहरुलाई पदकहरु दिने गरिँदा चौतर्फी विरोध समेत भइरहेको छ । धेरैले मापदण्ड र नियम नै नबनाई वितरण गरिने यस्तो पदकहरु बाड्ने प्रचलन नै बन्द गर्नुपर्ने समेत बताइरहेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।