काठमाडौं ४ असोज । सरकारले संविधान दिवसको दिन सार्वजनिक गरेको विभिन्न पदक पाउने सूचीमा औषधिको रसायन तस्करी प्रकरणमा सञ्चालकलाई उन्मुक्ति दिएर कर्मचारीलाई मात्र मुद्दा लगाएका विवादित सरकारी वकिल डा. टेकबहादुर घिमिरे पनि परेका छन् ।

उनलाई सरकारले जनसेवाश्रीबाट विभूषित गर्ने निर्णय गरेको हो । २०७३ सालको घटनामा औषधि निर्माणका नाममा खरिद भएको ‘स्युडोइफिड्रिन’ नामक रसायन लागूऔषधका रूपमा दुरुपयोग भएको मुद्दामा प्राप्त प्रमाण र घटनाको वस्तुपरक विश्लेषण नगरी उनीहरूले सञ्चालकहरूलाई उन्मुक्ति दिएर औषधि उत्पादनमा संग्लन कर्मचारीलाई मात्रै मुद्दा चलाएको भेटिएको पाइएको थियो । डा. टेकबहादुर घिमिरे त्यस बेला काठमाडौं सरकारी वकिल कार्यालयका प्रमुख थिए ।

लागूऔषध नियन्त्रण ब्युरोले औषधि बनाउने केमिकल अर्थात् ‘प्रि–क्रसर केमिकल्स’ को आवश्यकताभन्दा धेरै भित्र्याउने र त्यसलाई लागूऔषधका रूपमा बेच्ने काममा संग्लन रहेको भन्दै सांघाई ग्रुपको सञ्चालनमा रहेको आर्या फर्मा ल्याबमाथि कारबाही प्रक्रिया सुरु गरेको थियो।

आफ्नो मातहतका उपन्यायाधिवक्ताले हेरिरहेको फाइल मागेर अभियोगपत्र तयार गर्न जुटेका सरकारी वकिल कार्यालय प्रमुख डा. घिमिरेले सम्पूर्ण आरोप फर्माका सञ्चालक सञ्जयकुमार गुप्ता र वित्त प्रबन्धकमाथि केन्द्रित गरे र अरू आरोपितलाई उन्मुक्ति दिएका थिए ।

विवादित काठमाडौं सरकारी वकिल कार्यालयका तत्कालीन प्रमुख डा. घिमिरेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले मन्त्रीपरिषद बैठकबाट निलम्बन गरेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।