काठमाडौं ६ असाेज । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई कारवाही सिफारिस गरिएको छ । ढुंगानामाथि लागेको आरोपको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले मंगलवार सकारलाई प्रतिवेदन बुझाएको छ ।

कानूनविपरीत बुक बिल्डिङका क्रममा रहेको सर्वोत्तम सिमेन्टको शेयर आफन्तको नाममा खरीद गरिदिएर विवादमा तानिएपछि सरकारले २०७८ भदौ १६ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा विज्ञ सदस्य नारायणप्रसाद पौडेल र सहसचिव अर्जुनकुमार खड्का रहेको तीन सदस्यीय जाँचबुझ समिति गठन गरेको थियो ।

प्रतिवेदनमा बोर्ड अध्यक्ष भएकै बेला छोरी रेविका ढंगानाको नाममा १० हजार शेयर खरिद गरेको पाइएको र उक्त कार्य पदीय आचारणविरुद्ध भएको समितिको निष्कर्ष छ । बिवाहित छोरी भएपनि आफैंले रकम हालेर शेयर किनेको पाइएको समितिले निष्कर्ष निकालेको अर्थमन्त्रालय श्रोतले बताएको छ ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा ७ र नेपाल धितोपत्र बोर्ड सम्बन्धी नियमावली २०६४ को नियम ११ बमोजिम गठित समितिले तोकिएको समयभित्रै प्रतिवेदन पेश गरेको हो ।सर्वोत्तम सिमेन्टको सेयर नेप्सेका सीइओ चन्द्रसिंह साउदको श्रीमति शुसिला बोहराको नाममा समेत किनेको भेटिएको थियो। श्रीमतिको नाममा सर्वोत्तम सिमेन्टको सेयर किनेको सार्वजनिक भएपछि साउदले भने नेप्सेको सीइओ पदबाट राजीनामा दिएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।