नेकपा (एकीकृत समाजवादी) बैतडीको पहिलो विस्तारित बैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ । बैठकले तीन महिने संगठन विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । संगठन विस्तार अन्तर्गत पालिकाका कमिटीहरु गठन गर्ने, अहिले गठन प्रक्रियामा रहेका वडा कमिटी गठनलाई निरन्तरता दिने, जनवर्गीय संगठनहरु विस्तार गर्ने, नयाँ सदस्यता थप गर्ने र पुरानालाई नवीकरण गर्ने बताइएको छ ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका पोलिटब्यूरो सदस्य तथा बैतडी जिल्ला इन्चार्ज परमानन्द भट्टले अबको तीन महिना संगठन विस्तार र सुदृढीकरणमा लाग्ने बताए । विस्तारित बैठकले जिल्ला सचिवालय गठन गर्ने तथा जिल्ला कमिटी सदस्यहरु थप गर्ने निर्णय गरेको छ ।

सचिवायल सदस्यको टुंगो लगाउने जिम्मेवारी जिल्ला कमिटीका पदाधिकारीलाई दिएको छ । जिल्ला पदाधिकारीले नै स्थानीय तहका इन्चार्जहरु तोक्नुका साथै जनवर्गीय संगठनका इन्चार्जसमेत तोक्ने निर्णय गरेको छ । सचिवालय सदस्यमा यसअघि नेकपा एमालेमा छँदा सचिवालय सदस्य र जिल्ला कमिटी सदस्य रहेका ब्यक्तिलाई स्वतः समावेश गर्ने र जिल्ला कमिटी सदस्यको टुंगो पदाधिकारी बैठकले लगाउने बताइएको छ ।

पार्टीले केही दिनअघिको अविरल वर्षाका कारण विपदमा परेका बैतडीवासीका पीडाहरु सरकार समक्ष पुर्‍याउने जनाएको छ । बाढी पहिरो पीडितका लागि तत्काल राहत तथा पुनर्स्थापनाका काम अघि बढाउन सरकारलाई आग्रह गरेको छ ।

यसैगरी स्थानीय तहमा भइरहेको भ्रष्टाचार न्यूनीकरणका लागि पहल गर्ने, सार्वजनिक मुद्दामा बहस गर्ने, विकास निर्माणका काममा हुने ढिलाईको कारण खोजी र कार्यान्वयन पक्षलाई बलियो बनाउने निर्णयसमेत भएको पोलिटब्यूरो सदस्य भट्टले बताए । उनले भने, ‘हामी अब पार्टी संगठन विस्तारको कामलाई तीब्रता दिनुका साथै आम जनताका सानादेखि ठूला मुद्दामा केन्द्रीत हुन्छौं ।’

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।