काठमाडौं ९ कात्तिक । खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभा जिल्लाको सँगमस्थलका रूपमा परिचित साल्पा पोखरी पुर्वमा निक्कै चर्चित धार्मिक तथा पर्यटकिय स्थल हो ।

साल्पा पोखरी तथा सँगैका पाँच हजार मिटर माथिको उचाईमा रहेको सिलिचङ पहाड प्राकृतिक सौन्दर्यले पनि भरपिूर्ण छ । साल्पापोखरी समुद्र सतहदेखि करिब ४ हजार मिटर उचाइमा छ । यो चार जिल्लाको संगम स्थल भएपनि भोजपुर जिल्लाको दोभाने गाबिसमा पर्दछ।
संखुवासभाको तुम्लिङटार विमानस्थलमा ओर्लिएर भोजपुरको कात्तिके, नेपालेडाँडा, मझुवा, केदाकाउले, ताँबुटार, चौकीडाँडा, दोभाने पार गरेपछि साल्पा पोखरी पुग्न सकिन्छ। भोजपुर सदरमुकामबाट सुन्तले, मैयुङ हुदै पनि त्यहाँ पुग्न सकिन्छ।

खोटाङको खानीडाँडा विमानस्थलबाट दिक्तेल, तालखर्क, मैयुङ हुँदै र लामीडाँडा विमानस्थलबाट नुनथला, मुढे, रूपाकोट हुँदै पनि तीन दिनको पैदल यात्रा गर्दै त्याहाँ पुग्न सकिन्छ। दिक्तेल हुँदै चखेवासम्म गाडीमा र त्यसपछि दुई दिनको पैदल यात्रापछि पनि त्यहाँ पुग्न सकिन्छ ।

अहिले खोटाङको साकेला हुँदै खोटाङ, भोजपुर, संखुवासभा तथा सोलुखुम्बुलाई लक्षित गरेर मुन्धुम पैदलमार्गको पनि निर्माण भएको छ । जसले साल्पासम्म पुग्न धेरै सहजता पैदा गरेको छ । तर, कतिपय ठाउँमा भने पैदलमार्ग जोडिन अझै बाँकी रहेको छ । पहिलोपटक सगरमाथा चढ्न जाँदा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले साल्पा पोखरीकै मार्ग प्रयोग गरेका थिए ।
सूर्योदय र सूर्यास्तको मनोरम दृश्यावलोकन गर्न पर्यटकहरूले साल्पा पोखरीनजिकशिलिचुङ डाँडाको चुचुरो चढ्ने गरेका छन्। शिलिचुङबाट सगरमाथा, मकालु, कञ्चनजंघा, कुम्भकर्ण, मेरापिक लगायत हिमशृंखला र तराईको फाँटमा लमतन्न परेका नदी, वनजंगल र बस्ती मज्जाले देख्न सकिन्छ । साल्पा पोखरीमा पहिलो पटक स्वच्छ मनले जे माग्यो त्यहीँ पूरा हुने जनविश्वास छ । धेरैले भाकल गर्ने र त्यसका लागि साल्पा पुग्ने गरेको पनि पाइन्छ । खोटाङको साकेलाबाट साल्पा कसरी पुग्न सकिन्छ त ? अनि कस्तो छ साल्पा हेर्नुहोस् भिडियोमा








