काठमाडौँ २२ कात्तिक । तिहारपछिको पहिलो कारोबारका दिन आज नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक हजार ५०० रुपैयाँले उकालो लागेर ९२ हजार ५०० कायम भएको छ । सुन गत बिहीबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ रहने छ जसको मूल्य बिहीबार प्रतितोला ९० हजार ५०० तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य बिहीबारका तुलनामा रु २५ ले उकालो लागेर एक हजार २५० कायम भएको छ । चाँदी बिहीबार प्रतितोला एक हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।

महासंघले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको काारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८१९ दशमलव ७३ डलरमा कारोबार भइरहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।