काठमाडौँ, २९ कात्तिक । टोखा नगरपालिकामा नेकपा एमालेका निवर्तमान महासचिव इश्वर पाखरेल सहभागी हुने अर्को कार्यक्रम पनि विवादित बनेको छ । यसअघि पोखरेललाई अतिथि बनाउने भएपछि सिन्धुलीमा तनाव सिर्जना भएको थियाे । उनको विरोधमा स्थानीय सडकमा उत्रिएका थिए भने प्रशासनले सिन्धुली सदरमुकाममा निषेधाज्ञा जारी गरेको थियाे । । पुनः टोखाको कार्यक्रम पनि विवादमा परेको छ ।
नगरपालिकाले कात्तिक ३० गते कोभिड–१९ नियन्त्रणमा सहयोग पु¥याउने विभिन्न उपभोक्ता समितिका प्रतिनिधिलाई गर्न लागेको सम्मान कार्यक्रममा राजनीतिक पूर्वाग्रह राखेको भन्दै नेकपा (एकिकृत समाजवादी) टोखा नगर कमिटीले आपत्ती जनाएको छ ।
उक्त कार्यक्रममा नगरप्रमुख प्रकाश अधिकारीले सबै दललाई निमन्त्रणा गरेर नेकपा (एकिकृत समाजवादी) निकट कमिटीलाई नबोलाइएकाले नेकपा (एकिकृत समाजवादी) टोखा नगर कमिटीले विरोध जनाएको छ । टोखा नगरपालिका ९ का वडाध्यक्ष जेपी नेपालले आफ्नो दल राष्ट्रिय पार्टी भएको भए पनि नगरपालिकाले गर्ने कार्यक्रममा प्रमुखले सर्वदलीय प्रतिनिधिलाई बोलाएर आफूहरुलाई निषेध गरेकाले कार्यक्रम बाहिष्कार गर्ने जानकारी दिएका छन् ।
उनले भने, निर्वाचन आयोगले राष्ट्रिय मान्यता दिएको दललाई कार्यक्रममा बोलाइएन । म यहाँको वडा अध्यक्ष मात्रै होइन, पार्टीको प्रतिनिधि पनि हुँ’ । वडाध्यक्ष नेपाल एकिकृत समाजवादीका टोखा नगरपालिकाका पार्टी प्रमुख समेत हुन् । कार्यक्रममा नेकपा एमालेका महासचिव ईश्वर पोखरेललाई प्रमुख आतिथिका रुपमा निमन्त्रण गरिएको छ ।