फेसबुकमा समाचार सेयर गरेको निहुँमा लालीगुराँसले हाल्यो दुई जनाविरुद्ध मुद्दा

काठमाडौं २ मंसिर । लतिलपुरको ऐतिहासिक पुरातात्विक सम्पदा फल्चाको विषयमा फेसबुकमा लेखेको र त्यस सम्बन्धि प्रकाशित समाचार फेसबुकमा सेयर गरेको विषयलाई लिएर लाली गुराँस बहुउद्देश्यीय सहकारीले दुई जना विरुद्ध मुद्दा दायर गरेको छ ।

सम्पदाको पक्षमा वकालत गर्ने राजनीतिकर्मी तथा समय फल्चा पुननिर्माणमा सक्रिय पृथबिन्दु महर्जन र केशव पुरी विरुद्ध जिल्ला अदालत ललितपुरमा लिखित गाली बेइज्जती गरेको कसुरमा मुद्दा दायर गरेको हो ।

यसअघि समय फल्चालाई मिचेर शहकारीको भवन निर्माण गरेको र फल्चा पुननिर्माणमा अवरोध गर्दै आएका सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले महर्जन र पुरी विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् ।

महर्जनले समय फल्चा निर्माणको लागि सामाजिक संजालमा अभियान थालेकी थिइन् । उनी र पुरीले विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार फेसबुकमा सेयर गरेका थिए । महर्जनले आफूले हेलोखबर, आर्थिक दैनिक र दियोपोष्टमा प्रकाशित समाचार सेयर गर्दा आफू विरुद्ध मुद्धा हालिएको बताएका छन् ।

लालीगुराँसले आफ्नो विरुद्ध आलोचना गर्नेहरुलाई दुःख दिने र र सम्पदा पुननिर्माण अभियानलाई कमजोर पार्ने उद्देश्यले महर्जन र पुरी विरुद्ध मुद्दा दायर गरेको पाइएको छ । सञ्चारमाध्यममा प्रकाशित समाचार सेयर गर्न पाउने विषय वाक तथा नागरिक स्वतन्त्रतासँग सम्बन्धित विषय भए पनि लालीगुराँसले आफ्नो विरुद्धका समाचार फेसबुकमा सेयर गरेकै आधारमा मुद्दा दायर गरेको पाइएको हो ।