काठमाडाैं ३ मंसिर । सरकारले माघ १२ गतेका लागि राष्ट्रिय सभा चुनाव गर्ने मिति तय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

राष्ट्रिय सभामा २० सदस्यको पदावधि सकिँदैछ। फागुन २० मा उनीहरूको पदावधि सकिने भएको हो। पदावधि सकिनुअघि नै ती पदमा चुनाव गरिसक्नुपर्ने हुन्छ। २० सदस्यमध्ये १ जना राष्ट्रपतिबाट मनोनित हो। १९ पदका लागि माघ १२ मा चुनाव गर्ने मन्त्रिपरिषदले निर्णय गरेको हो। निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि मिति तय गर्न सरकारसँग आग्रह गरेको थियो।

राष्ट्रिय सभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअगाडि नै उक्त पदका लागि निर्वाचन गर्ने व्यवस्था छ। सत्तारूढ गठबन्धनले राष्ट्रिय सभाको निर्वाचनमा तालमेल गरेर जाने तयारी गरेका छन्।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।