कांग्रेस नेता जोशीद्धारा पत्रकार महासंघ उपत्यका प्रदेशलाई आर्थिक सहयोग

काठमाडौं ९ मंसिर । नेपाली कांग्रेसका नेता राजुराज जोशीले नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिलाई आर्थिक सहयोग प्रदान गरेका छन् । नेता जोशीले प्रदेश समितिको कार्यालय प्रयोजनका लागि कम्प्युटर, फर्निचर लगायतका भौतिक समाग्री खरिदका लागि सहयोग हस्तान्तरण गरेका हुन् । नेता जोशीले प्रदेश समितिको कार्यालय अनामनगरमा पुगेर प्रदेशका पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुका माझ प्रदेश अध्यक्ष श्रीजन झालाई सहयोग रकम हस्तान्तरण गरेका छन् ।

नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तर्गत आगामी १६ गते हुने बागमती प्रदेश सभाको लागि सभापतिको उम्मेदवारी दिने तयारीमा रहेका उनले सहयोग हस्तान्तरण कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै मुलुकको प्रत्येक कालखण्डमा भएका परिवर्तनकारी आन्दोलनमा पत्रकार र पत्रकारिता जगतले निर्वाह गर्दै आएको भूमिकाको सराहना गरेका छन् । उनले पत्रकारको कलम सशक्त रुपमा चलेमा त्यसले प्रजातन्त्र झनै बलियो हुने समेत जनाएका छन् । आफ्नो तर्फबाट पत्रकार महासंघको उपत्यका प्रदेश समितिको लागि केहि सहयोग गर्न पाउँदा सुखानुभूति भएको उनको भनाई छ । उनले भविष्यमा पनि आफ्नो तर्फबाट थप सहयोग गर्दै जाने समेत बताएका छन् ।

कार्यक्रममा लोकतान्त्रिक राष्ट्रिय छापा माध्यम सञ्जालका अध्यक्ष दामोदर प्रसाद दवाडीले महासंघको उपत्यका प्रदेश समिति स्वरोजगार मिडिया यसमा आवद्ध पत्रकारहरुको पक्षमा विभिन्न किसिमबाट क्रियाशील रहेको बताउदै काँग्रेस नेता जोशीले नागरिकलाई सुसूचित गराउने र नागरिक अभिव्यक्ति स्वतन्त्रताको पक्षमा भूमिका निभाउने अगुवा संस्थालाई गरेको सहयोग महत्वपूर्ण भएको बताउँदै त्यसका लागि धन्यवाद समेत दिएका छन् ।

उपत्यका प्रदेशका अध्यक्ष झाले नेता जोशीले समितिलाइ सहयोग गर्न देखाएको सदिच्छा आफैमा तारिफ योग्य भएको भन्दै सहयोगका लागि आभार सहित उनको वर्तमान र भविष्यको राजनैतिक यात्राको सफलताको कामना व्यक्त गरेका छन् ।

मुलुक संघीय संरचनामा गएसंगै अस्तित्वमा आएको महासंघको प्रादेशिक संरचना अन्र्तगत करिव ७० प्रतिशत भन्दा क्रियाशील पत्रकारहरुको पेशागत कार्यथलो रहेको उपत्यकामा रहेको पेशागत संगठन उपत्यका प्रदेश समितिमा करिब दुइ हजार पाँच सय पत्रकार सदस्यहरु आवद्ध रहेका छन् । कार्यक्रममा समितिका महासचिव टेनिस रोका तथा कार्यसमितिका रमा कुमारी न्यौपाने, प्रविण श्रेष्ठ, नेत्र न्यौपाने, अनिल गुप्ताका साथै विभिन्न सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।