काठमाडौ ९ मंसिर । नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा सभापति शेर बहादुर देउवा पक्ष बलियो बन्दै गएपछि संस्थापन इतर पक्ष अत्तालिएको छ । अहिलेसम्म प्राप्त मत परिणाममा देउवा पक्ष अघिल्लो महाधिवेशनमा भन्दा निकै बलियो देखिएको र पहिलो चरणमै बहुमत प्राप्त गरी पुनः सभापतिमा देउवा नै दोहोरिने आंकलन पौडेल पक्षले गरेको पाइएको छ ।

जे गरे पनि देउवालाई हराउन नसक्ने देखिएपछि संस्थापन इतर पक्षबाट सभापतिको उम्मेदवार हुने भनिरहेका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा. शशांक कोइराला, डा. शेखर कोइराला, कृष्ण सिटौलामा छटपटी देखिएको छ । अहिलेसम्म प्राप्त मत परिणामलाई हेर्दा आफ्नो उपस्थिति लाजमर्दो भएपछि उपसभापति विमलेन्द्र निधि पनि निरास बनेको उनी निकटस्थहरुले जनाएका छन् ।

अहिले उम्मेदवार बनेर कम मत आयो भने आफ्नो हैसियत झन कमजोर हुने ठानेर पौडेल, सिंह, कोइराला, निधिलगायतका नेता वैकल्पिक उपाय खोजेर राजनीति सुरक्षित गर्ने रणनीतिमा जुटेको पाइएको छ । पौडेलले भविष्यमा राष्ट्पति बन्ने बाटो खुले सभापतिमा देउवालाई नै सहयोग गर्ने मनसाय बनाएको पौडेल निकट एक केन्द्रिय सदस्यले जनाएका छन् । पौडेलको अर्को सर्त आफ्ना छोरा चिन्तन पौडेलको राजनीतिक सुरक्षा रहेको जानकारहरु बताउँछन् । यसका लागि उनले पटक पटक देउवासँग छलफल गरिसकेको बताइएको छ । उसो त उनले इतर समुहबाट उम्मेदवार बन्न चाहेकाहरुलाई यही शर्त राखेको उनी निकटस्थहरुले जनाएका छन् । प्रकाशमानले समेत साथ नदिने भएपछि पौडेल तेस्रो हुन उम्मेदवार नबन्ने मनस्थितिमा पुगेको जनाइएको छ । उसो त प्रकाशमानले पनि सभापतिको निर्वाचन दोस्रो चरणमा लाने र अन्तःमा कुनै बार्गिेनिङ गरी देउवालाई नै सहयोग गर्ने मनसायसाथ अगाडि बढेको जनाइएको छ ।

सिटौला लामो समयदेखि देउवासँगै सहकार्यमा छन् भने डा. शशांक देउवासँग लचक हुँदै आएको पाइन्छ । ‘धेरै नेताहरु अहिले देउवासँग लेनदेनको बार्गेनिङमा छन् । लेनदेन नमिले मात्र उम्मेदवार हुने देखिन्छ’ दुई पक्षीय छलफलहरुमा संलग्न रहँदै आएका एक नेताले भने । देउवा लचिलो स्वभावका नेता भएकाले लेनदेन हुन सक्ने बताइएको छ । योसँगै देउवा पहिलो चरणमै बहुमत भोट आफ्नो पोल्टामा पार्ने गरी तयारीमा जुटेको उनी निकटस्थहरुले जनाएका छन् ।

यसैगरी पदाधिकारी उम्मेदवार हुन चाहनेहरुले पनि देउवाकै आशिर्वाद खोजिरहेको पाइएको छ । पौडेल-कोइरालाबाट पदाधिकारी दावी गर्नेहरुले बहुमत देउवासँगै रहेकाले इतरसमुहबाट जित्न नसकिने ठहर गर्दै देउवाकै आशिर्वाद खोजेको देउवा निकट एक नेताको भनाई छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।