खोटाङ १२ साउन ।  जिल्ला निर्वाचन कार्यालय खोटाङमा उत्साहजनक ढंगले फोटोसहितको मतदाता नामावली दर्ता भईरहेको छ । फोटोसहितको मतदाता नामावली दर्ता गर्न यसअघि छुटेकाहरुलाई साउन १ गतेदेखि साउन मसान्तसम्मको समय दिएपछि मतदाता नामावली दर्ता गर्नेको संख्या उल्लेख्य रहेको जिल्ला निर्बाचन कार्यालयले जनाएको छ । 
फोटो सहितको मतदाता नामावली दर्ता अभियान शुरु भएको एघार दिन अर्थात बुधबारसम्म एक हजार ३ सय ६७ मतदाता थप भईसकेको र दैनिक रुपमा नै नाम दर्ता गराउन भीड लागिरहेको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले जानकारी दिए । 
निर्वाचन कार्यालयले फोटोसहितको मतदाता नामावली दर्ता अभियान सुरु गरेपछि सबै राजनीतिक दलले आफ्नो कार्यकर्ता तथा समर्थकलाई अनिवार्य नाम दर्ता गराउन अनुरोध गरेको छ । कतिपय नेता तथा कार्यकर्ताले आफू समर्थकलाई निर्वाचन कार्यालयमै पु¥याएर नामावली दर्ता गराउन लगाउने गरेका छन् । 
पछिल्लो अभियानबाट करिब दश हजार मतदाता थपिने अपेक्षा गरिएको जिल्लामा यसअघि भएको स्थानीय तहको निर्वाचनमा एक लाख १५ हजार ४ सय ४४ मतदाता रहेका थिए । 
हाल सदरमुकाम दिक्तेलमै मात्र सिमित मतदाता नामावली संकलन अभियान साउन १६ गतेबाट जिल्लामा रहेका २ नगर र ८ वटै गाउँपालिकामा पु¥याउने कार्यालयले जनाएको छ । 
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।