काठमाडौं १ पुष । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले बिभिन्न प्रदेशको पदाधिकारीमा पुर्व माओवादी तथा मधेसी समुदायका नेतालाई जिम्मेवारी नदिएपछि नेता प्रभु साह असन्तुष्ट भएका छन् ।
एमालेको केन्द्रीय कमिटी बैठकले सात भौगोली र एक गैरभौगोलिक प्रदेश कमिटीको पदाधिकारी चयन गरेको थियो । जसमा पुर्व माओवादी तथा मधेसी समुदायका नेतालाई नराखिएपछि साहले असन्तुष्टि पोखेका छन् । एमाले स्थायी कमिटीका सदस्य साहले प्रदेश पदाधिकारीमा पुर्व माओवादी तथा मधेसी समुदायका नेतालाई जिम्मेवारी दिन अध्यक्ष केपी शर्मा ओलीसंग माग गरेको एमाले स्रोतले जनाएको छ ।
बैठकबाट भौगोली क्षेत्रका सात र गैरभौगोलिक विशेष प्रदेश कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव गरी ४० पदाधिकारी नियुक्त गरिएको छ । तर प्र्रदेश १, प्रदेश २, वागमती प्रदेश, गण्डकी प्रदेश कमिटीमा पुर्व माओवादी समुहका एकजना पनि नेतालाई पदाधिकारीमा राखिएको छैन् ।
लुम्बिनी प्रदेशमा दुर्गा थारुलाई उपसचिव राखिएको छ । कर्णाली प्रदेशमा कमल शाहीलाई सचिव राखिएको छ भने सदुरपश्चिम प्रदेश कमिटीमा भागरथी विष्टलाई उपसचिव राखिएको छ ।
प्रदेशतर्फको ४० पदाधिकारीमा तीन जना मधेसी समुदायका नेता मात्रै परेका छन् । जसमा एक थारु, एक मुस्लिम परेका छन् भने प्रदेश २ मा रामऔतार यादव प्रदेश अध्यक्ष नियुक्त भएका छन् ।
‘४० भन्दा बढी पदाधिकारीहरु नियुक्त हुदैगर्दा पुर्व माओवादी तथा मधेसी समुदायका नेताहरुलाई सम्मानजनक सहभागिता नगराउँनु दुखद बिषय हो’ साहले आफू निकटका नेताहरुसंग दुखेसो पोख्दै दिन विताइरहेका छन ।
यस्तै स्थानीय तहमा निर्वाचित सबै प्रमुख तथा उपप्रमुख महिलाहरु एमालेको केन्द्रीय सदस्य भए पनि प्रदेश २ मा एक मात्र निर्वाचित मेयर रिना साह केन्द्रीय सदस्य नभएकोमा समेत साहले दुखेको पोखेका छन् । कतिपय उपप्रमुख महिलाहरु केन्द्रीय सदस्य हुदैगर्दा प्रदेश २ मा एक मात्र निर्वाचित मेयर साहलाई केन्द्रीय सदस्य नबनाइएकोमा समेत साहले असन्तुष्टि व्यक्त गरेका छन् ।