काठमाडौं ४ पुष । नेकपा एमाले अध्यक्ष केपी ओलीले एमालेबाट विभाजन भएर बनेको नेकपा समाजवादी पार्टी र पार्टी अध्यक्ष माधव नेपाललाई बहिस्कार गर्ने नीतिलाई अहिले पनि अवलम्बन गरेका छन् । यतिसम्म कि, ओलीले उक्त पार्टीको नाम नै लिन इच्छा देखाउँदैन् । पार्टी र पार्टीका नेतालाई आफ्ना कार्यक्रममा निम्तो गर्दैनन् भने माधव नेपाल पक्ष सहभागी कार्यक्रममा नै नजाने नीति लिएका छन् । ओली नेतृत्वको एमालेले माधव नेपाल पक्षलाई बहिस्कार गर्ने र उक्त पार्टीका नेताहरु सहभागी कार्यक्रमलाई बहिस्कार र तिरस्कार गर्ने नीति अपनाउँदै आएको पाइएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज आइतबार लागि आह्वान गरेको सर्वदलिय बैठक बहिस्कार गर्नुको एउटा कारण माधव नेपाल पक्षलाई बोलाउनु पनि रहेको पाइएको छ । एमालेका एक शिर्ष नेताले माधव नेपाल पक्ष सहभागी हुने कार्यक्रममा आफ्नो सहभागिता नहुने बताएका छन् । यसअघि एमालेको चितवनमा सम्पन्न अधिवेशनमा एमालेले सबै अन्य दलका प्रतिनिधिलाई बोलाए पनि नेपाल नेतृत्वको समाजवादीलाई भने बहिस्कार गर्दै निमन्त्राणा नै गरेको थिएन । यसअघि सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलिय बैठकमा पनि समाजवादीलाई बोलाएको भन्दै बहिस्कार गरेको थियो ।








