काठमाडौँ ४ पुष । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले प्रमुख विपक्षी नेकपा एमालेलाई संसद् अवरोध नगर्न आह्नान गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्नानमा आइतबार बालुवाटारमा बसेको सर्वदलीय बैठकले प्रतिपक्षी एमालेलाई आफ्ना असहमति प्रकट गर्ने नाममा जननिर्वाचित संसद्लाई बन्धक नबनाउन आग्रह गरेको हो ।
बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा एमसीसी र संसद् सञ्चालनका विषयमा लामो छलफल भएको जानकारी दिए । उनले सर्वदलीय बैठकले असन्तुष्टि प्रकट गर्ने नाउमा संसद्लाई बन्धक बनाउन नपाइने निष्कर्षमा पुगेको बताए ।
‘संघीय संसद् निरन्तर अवरुद्ध हुँदा संसद्को नियमित काम र जनताको यस संस्थाबाट अपेक्षा गरेको गहन भूमिका प्रभावित भएको छ, जननिर्वाचित संस्थालाई यसरी लामो समयसम्म बन्धक बनाउनु उचित होइन, गतिरोधका कारण कतिपय महत्वपूर्ण विधेयक र प्रस्तावहरूसमेत अल्झिएका छन्,’ बैठकपछि सञ्चारमन्त्री कार्कीले भने, ‘संसदीय लोकतन्त्रलाई जीवन्त राख्न प्रतिपक्षको भूमिका महत्वपूर्ण हुन्छ । तर, सशक्त प्रतिपक्ष हुनुको अर्थ संसद् नै चल्न नदिनु भन्ने होइन ।’
उनले विरोध र असहमति प्रकट गर्ने नाउमा संसद् अवरुद्ध हुँदा त्यसले लोकतन्त्र र संसदीय अभ्यास नै कमजोर हुने बैठकको निष्कर्ष रहेको सुनाएका छन् ।








