दाङ ७ पुष । दाङ घोराहीको कटुवा खोलादेखि नेत्रलाल अभागी चोकसम्मको चार लेन सडक निर्माण सम्पन्न भएर सरकारलाई हस्तान्तरण नहुँदै भत्किन थालेको छ । सडकखण्डका बिभिन्न ठाउँमा खल्डाखुल्डी परेका छन् । ट्राफिक चोक छेउमा सबैभन्दा धेरै भत्किएको छ ।
डेढ किलोमिटरको उक्त सडकखण्ड चार लेनमा विस्तार गर्न कान्छाराम शंकरमाली जेभीसँग ०७१ भदौ ११ गते सम्झौता भएको थियो । निर्माण कार्य ०७५ साल असोज ३० गते सम्पन्न भएको थियो । तर तर निर्माणसम्पन्न भएको ६ वर्ष बितिसक्दा पनि उक्त सडकखण्ड हस्तान्तरण हुन सकेको छैन ।
खल्डाखुल्डी परेको सडक मर्मत गर्न भन्दै निर्माण कम्पनीलाई सडक विभागले पटक(पटक पत्राचार गर्दै आएको छ । तर निर्माण कम्पनीले अटेर गरिरहेको सडक डिभिजन कार्यालयका सूचना अधिकारी अमिर सुवेदीले बताए । ‘सडक हस्तान्तरण नहुँदै भत्किएको अवस्थामा निर्माण कम्पनीले नै सडक मर्मत सम्भार गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘सडक मर्मत गर्न भनेर पटक(पटक पत्राचार गरिरहेका छौं तर कम्पनीले अटेर गरिरहेको छ ।’