काठमाडौं १३ पुस । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशभर जाडो बढेको छ । पश्चिमतर्फबाट नेपाल प्रवेश गरेको यो प्रणाली अहिले देशभर फैलिएको छ भने यसका कारण मौसममा परिवर्तन हुँदा चिसो बढ्न पुगेको हो ।

उक्त प्रणालीको कारणले उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुनुका साथै पहाड र तराई(मधेसका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले काठमाडौं उपत्यका वरपरका अग्ला स्थानमा पनि हिउँ पर्नसक्ने जनाएको छ । मनाङ, डोल्पा, हुम्लातिर भने हिमपात भइरहेको छ ।
मौसमविदले दुई दिनसम्म राम्रोसँग घाम नलागेकाले चिसो बढेको जनाउँदै तापक्रम अझै घट्ने क्रममा रहेको जनाएका छन् । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव मध्य क्षेत्र हुँदै क्रमशः देशको पूर्वी भूभागसम्म फैलिएको छ । यसैको कारण अहिले देशभर बादल लागेको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागहरुमा हल्का वर्षासँगै हिमपात भइरहेको छ । बिहीबारदेखि क्रमश यो प्रणाली कमजोर हुँदै जाने र मौसममा सुधार हुने मौसमविद्हरुले जनाएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।