नारायणहिटी कौडीमा भाडामा दिने दाहालले दिए राजीनामा, आदेश दिने पूर्वमन्त्री योगेश भट्टराई गुपचुप !

काठमाडौं २७ पुष । नारायणहिटी परिसरको जग्गा कौडीको भाउमा भाडामा दिन संलग्न मानिएका नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन् ।

कार्यकारी निर्देशक दाहालले मंगलबार समितिको कार्यालयमा राजीनामा बुझाएका छन् भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई पनि एक प्रति पठाएका छन् ।

बतास समूहले सार्वजनिक खरिद ऐनविपरीत मिलेमतोबाट नारायणहिटीमा चमेनागृहसहित १४ रोपनी जग्गा ‘कौडीको मूल्य’ मा हात पारेको पर्यटन मन्त्रालयको छानबिनले ठहर गरेको थियो । त्यसलगत्तै दाहालले राजीनामा दिएका हुन् । तर, उक्त जग्गा भाडामा दिनका लागि आदेश दिने तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई भने आफू संलग्न नरहेको भन्दै चोखिने दाउमा छन् । उनी अहिले गुपचुप बस्दै आएका छन् । आज मात्र राजीनामा दिएका दाहालले भट्टराईको दबाबमा नै आफूले निर्णय गरेको बताउने गरेका छन् ।

यसअघि कान्तिपुरसँग उनले मन्त्री भट्टराईले मौखिक आदेश दिएपछि आफूले निर्णय गरेको बताएका थिए । निक्कै स्वच्छ छवि र युवा नेता भनेर हेरिएका भट्टराई पछिल्लो समय यस्ता विवादमा प्रत्यक्ष मुछिन थालेका छन् । सर्वसाधरणले उनलाई पनि आफ्नो स्वार्थका लागि अनियमितता र बेथिति गर्ने कतिपय नेता भन्दा फरक नदेखिएको बताउने गरेको समेत पाइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।