काठमाडौं ११ माघ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । जस अनुसार उनीसँग ५६ तोला सुन र २ किलो चाँदी छ । ३ लाख रुपैयाँबराबरको टप, औँठी र नवरत्न पनि उनीसँग रहेको छ । त्यस्तै विभिन्न बैंकमा गरी उनको नाममा ७७ लाख रुपैयाँ रहेको छ । त्यस्तै श्रीमती बसन्ती शाहीका नाममा ३१ लाख रुपैयाँ रहेको छ । त्यस्तै गरी शुभचिन्तक सहकारीमा मुख्यमन्त्री शाही र श्रीमतीको नाममा ६÷६ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै चिलिमे हाइड्रो पावरको २६०० कित्ता सेयर रहेको छ । त्यस्तै ज्योति विकास बैंकमा १० हजार कित्ता प्रमोटर सेयर रहेको छ भने कृषि विकास बैंकको ४ सय कित्ता सेयर रहेको छ ।

उनले सम्पत्ति विवरणमा हुम्लाको सिमकोटमा २ र काठमाडौंमा एउटा घर जनाएका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा उनको १० आना (३३०.७५ वर्गमिटर) जग्गामा बनेको घर छ । मुख्यमन्त्री शाहीले उक्त घर व्यापार व्यवसायबाट भएको आम्दानीले बनाएको उल्लेख गरेका छन् । त्यस्तै हुम्लाको सिमकोट २२ आना र १७ आनामा बनेका दुईवटा घर पनि रहेका छन् ।

मुख्यमन्त्रीले बाँकेको खजुरामा १० लाखमा २ बिघा जमिन किनेको बताएका छन् । त्यस्तै नेपालगन्ज उपमहानगरपालिका-१ मा ५ लाखमा किनेको जग्गा कति छ भन्ने विवरण भने मुख्यमन्त्री शाहीले खुलाएका छैनन् । त्यस्तै श्रीमती शाहीको नाममा ५ आना १० पैसा २ दाम जग्गा रहेको छ । उक्त जग्गा जागिर र व्यापार व्यसायबाट किनेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । उनले व्यक्ति र ज्योति विकास बैंकसँग गरी १ करोड ७२ लाख रुपैयाँ ऋण लिएको उल्लेख गरेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।