काठमाडौं १९ माघ । काठमाडौंको तीनकुनेमा रहेको कान्तिपुर अस्पताल कोरोनाको नक्कली रिपोर्ट बनाउने धन्दामा संलग्न रहेको खुल्न आएको छ । महानगरीय अपराध महाशाखाको टोलीले अस्पतालका कर्मचारीलाई पक्राउ गरेको हो । वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूका लागि अस्पतालबाट स्वाबको नमूनासमेत नलिई नक्कली पीसीआर रिपोर्ट बनाउने काम भएको महाशाखाले जनाएको छ ।

कान्तिपुर अस्पताल प्रालिका कर्मचारी परिचय पत्र भएका नागेन्द्रकुमार यादवलाई १७ थान नक्कली पीसीआर रिपोर्टसहित नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ । त्यस्तै सोही अस्पतालका कर्मचारी माधव मैनाली पनि पक्राउ परेका छन् । कान्तिपुर अस्पतालबाट पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट उल्लेख गरिएको ४ थान रिपोर्ट पनि भेटिएको छ ।

महाशाखाले भक्तपुरको मध्यपुर थिमीमा रहेको नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेडका कर्मचारी समेत पक्राउ गरेको छ । लिमिटेडका कर्मचारी परिचयपत्र भएका रोशनकुमार छिट्टानलाई ८ थान नक्कली पीसीआर परीक्षण रिपोर्टसहित एयरपोर्ट अगाडिबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ । यस्तै अस्पतालका ल्याब म्यानेजर प्रसन्नकुमार झालाई नियन्त्रणमा लिइएको महाशाखाले जानकारी दिएको छ ।

प्रहरीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्रतिनिधिहरु समेतको रोहबरमा दुवै अस्पतालका ल्याबबाट पीसीआर रिपोर्ट बनाउन प्रयोग भएका कम्प्युटरलगायत उपकरण पनि नियन्त्रणमा लिइएको छ । दुवै ल्याबका सञ्चालक भावेश मिश्र र निर्मल गिरी तथा पीसीआर रिपोर्टमा दस्तखत गर्ने ल्याब चिकित्सकहरुको खोजतलास कार्य भइरहेको महाशाखाले जनाएको छ । दुवै अस्पतालका पीसीआर ल्याब सिल गरिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।