काठमाडौं १९ माघ । प्राइम लाइफ इन्स्योरेन्सले विदेश जाने तीन सय भन्दा बढीलाई ठगी गरेको खुलेको छ । कम्पनीले नक्कली बिमालेख जारी गरेर वैदेशिक रोजगारमा जानेलाई ठगेको पाइएको हो।

बिमा समिति स्रोतले प्राइम लाइफ इन्स्योरेन्सले बिमितको हितविपरीत नक्कली बिमालेख जारी गरेको र तलबभत्ता नै निर्धारण नगरी ठूलो रकम खर्च गरेको पाइएको जनाएको छ ।

चार वर्षअघि प्राइम लाइफ इन्स्योरेन्सले म्यादी बिमा अन्तर्गत वैदेशिक रोजगार बिमालेख जारी गर्ने प्रयोजनका लागि ३० कर्मचारी नियुक्ति गरेको थियो। नियुक्ति गर्दा तलब, सेवा, सर्त केही पनि निर्धारण गरिएको थिएन भने हाजिरी हुने व्यवस्था समेत थिएन । बिमा समितिले कर्मचारी विनियमावली विपरित हचुवाका भरमा तलब तोकिएको भन्दै १ वर्षसम्म प्रतिव्यक्ति ८३ हजार भुक्तानी दिनेगरी ३० करोड रुपैयाँ खर्च देखिएको जनाएको छ ।

कम्पनीले बदमासी गरेपछि बिमा समितिले १० हजार रुपैयाँ जरिबाना तिराएको छ। ‘बिमितको हितविपरीत नक्कली बिमालेख जारी गरेको र वैदेशिक रोजगार म्यादी जीवन बिमासम्बन्धी निर्देशन, २०७३ बमोजिम सुरक्षित, मर्यादित र व्यवस्थितरूपले वैदेशिक रोजगार बिमा नगरेको देखिएकाले बिमा ऐन, २०४९ को दफा ३६ को उपदफा (१) बमोजिम उक्त कम्पनीलाई १० हजार जरिबाना गरिएको बिमा समतिलिे जनाएको छ । बिमा समितिले पुनः यस्तो गल्ती भेटिए खारेज गर्ने चेतावनी समेत दिएको छ ।

बिमा गरेपछि श्रमिकहरू विदेश गएकोमा एक व्यक्तिको वैदेशिक रोजगारको क्रममा मृत्यु भएपछि यस्तो रहस्या खुलेको थियो। उनका परिवारले प्राइफ लाइफमा दाबी गरेपनि किर्ते बिमा भएकाले कम्पनीमा मृतकको बिमाबारे कुनै रेकर्ड भेटिएन। तर बिमालेखको कागजमा भने कम्पनीको छाप प्रयोग भएको थियो। यसपछि ठगी मुद्दा दायर भएको थियो भने कर्मचारी ठगी अभियोगमा जेल चलान भएका थिए।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।