काठमाडौं २५ माघ । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले एमसीसी फिर्ता लैजान अमेरिकी सरकारलाई आग्रह गरेका छन्।
अमेरिकी सहयोग परियोजना एमसीसी नेपालमा विवादित हुँदा जनमत पनि विभाजित हुन पुगेकाले संसदबाट पारित हुने स्थिति पनि न्यून नभएको भन्दै परियोजनालाई फिर्ता लान गौतमले आग्रह गरेका हुन्। मंगलबार विज्ञप्ति जारी गर्दै गौतमले सम्झौता र सहमति सार्वजनिक हुँदा साथ यसमा रहेका कतिपय प्रावधान र शर्तहरुका कारण नेपालका प्रमुख राजनीतिक पार्टीहरुका बीच गम्भीर विवाद भएको र जनमत पनि गम्भीर रुपमा विभाजित भएर प्रकट हुन थालेको उल्लेख गरेका छन्।
उनले सम्झौता कार्यान्वयनबाट नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा आँच पुग्ने शंका गर्न थालिएको भन्दै विज्ञप्तिमा भनेका छन्, ‘ सम्झौता कार्यान्वयनबाट नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा आँच पुग्ने शंका गर्न थालिएको छ। उपरोक्त अवस्थालाई मध्यनजर गर्दै अहिले आएको एमसीसी परियोजनाले नेपालको हित भन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सृजना हुने देखिएको छ।’








