Tuesday, September 29, 2026
22.1 C
Kathmandu
Home समाचार ‘अमेरिकाले पैसा दिएर विकास गरिदिएको देशको सूची कता पाईन्छ ?’

‘अमेरिकाले पैसा दिएर विकास गरिदिएको देशको सूची कता पाईन्छ ?’

यादव देवकोटा
निर्णायक घडीमा मौनताको या असमन्जस्यताको सिरक ओढेर बस्न सकिन्न । यो समय मुखर हुनैपर्ने नागरिक दायित्व हरेक नागरिकले निर्वाह गर्नैपर्छ ।

१)देशका नागरिकहरुलाई चरम विभाजनमा लगेर, नेपाली समाजलाई चरम ध्रुविकृत गरेर एमसीसी पास नगरी नहुने कारण के हो ?
२) नेपालको विकास नभएको अमेरिकाले या कुनै देश, संस्थाले ५० अर्व रकम नदिएर, नेपालसँग ५० अर्व रकम नभएर हो ?
३) आजसम्म वैदेशिक अनुदान, सहायता, ऋणको नाममा कति रकम नेपाल ल्याइयो, आयो ? कति रकम देश विकासमा खर्च भएको हो र त्यसको उत्कर्षमा देशको यो हालत भएको हो ?
३) वैदेशिक अनुदान, सहयोग, ऋणको मात्रा जति-जति बढ्यो उति-उति देशमा भ्रष्टाचार बढ्दै जानुको, सामाजिक असमानता चुलिँदै जानुको कारण के हो ?
४) नेपाललाई के-के कामका लागि कति रकम आन्तरिक स्रोत परिचालनका वावजुद पनि नपुगेको हो ? ५० अर्ब अमेरिकी सहयोग नलिई नहुने र नलिँदा देश टाट पल्टिने अवस्थामा पुगेको हो ? यसबारे अध्ययन भएको र के निर्क्यौल निकालिएको हो ?
५) देशभित्रै रकम यति दुरुपयोग छ कि कडाईका साथ सम्पतिको स्रोत, कर, बजेट कार्यान्वयनको लुपहोल कस्ने हो भने वार्षिक ३ खर्व अतिरिक्त रकम आजकै अर्थतन्त्रभित्रवाट राज्यकोषमा जम्मा गर्न सकिन्छ।
६) एमसीसी अमेरिकाको रणनीतिक परियोजना हो, यसमा कुनै शंका छैन । हामीले अमेरिकी रणनीतिको साझेदार नबनी नहुने के आपत परिआएको हो नेपाललाई ?
७) अमेरिकाले चीन घेर्न, हान्न एमसीसी नेपालमा ल्याउन लागेको, अमेरिकी सेना नेपाल ल्याउन एमसीसी सहमति हुन लागेको जस्ता फाल्टु कुरा छोडौं । चीनको चिन्ता गर्न चीन आफैं सक्षम छ । नभए उसको चिन्ता गरिदिनुपर्ने)गर्ने सरोकार हामीलाई छैन । तर, जसरी पनि सहयोग लिनैपर्छ भनेर दिने नै चार बित्ता उफ्रेर दवाव र धम्कीमा किन उत्रेको हो ?
८) विदेशी अनुदानले आजसम्म कुनै देश बनेको छ ? विदेशीले पैसा दिएर, हालिदिएर कुनै देश विकास भएको छ आजसम्म ?
९) अमेरिकाले पैसा दिएर, लगानी गरेर विकास गरिदिएको देशको सूची कता पाईन्छ ? आजसम्म अमेरिकाले विकास निर्माण गरिदिएको देश कुन कुन हो र रणनीतिक स्वार्थ साँध्न ध्वंस गरेर ध्वस्त बनाएका देशहरु कुन कुन हुन् ? दाँजेर हेरे अमेरिकी अनुहार प्रष्ट हुँदैन र ?
१०) के कांग्रेसले नेपालको विकास नभएकोले छाती पोलेर देशको विकास गर्न एमसीसी नल्याई हुँदैन भनेर लागेको हो ? आजसम्म कांग्रेसले ल्याएको वैदेशिक सहायता, ऋणले देशको कति विकास भयो, कति कांग्रेसीहरुको पेट भरियो/विकास भयो ~ अब हिसाब सार्वजनिक गर्नु ढिला भएन ?
११) कांग्रेसले अग्रसरता लिएर गरेको सन्धि, सम्झौतामा हरेक पटक देशले, नागरिकले हारेको/ शिर निहुरेको अनुभूति किन गरिरहनु परेको छ हरेकपटक ?
१२)भारत र अमेरिकाका वफादार भनेर चिनिएका वावुराम/शेरबहादुर एमसीसीमा लुगा खोलेर सर्वाङ्ग दौडन किन हतारिएको हो ? यिनीहरु नै लाग्नुको खास संयोग के हो ? यिनले आजसम्म देशको हितमा र पराया हितमा गरेको कामको वजनले तुलो कतापट्टी भारी हुन्छ ?
१३) के देशलाई/नागरिक मत र मनोभावनालाई चरम विभाजित गरेर कटौरा थापेर ल्याउने भिखले यो देशको कायापलट हुन्छ ? कि नागरिक मनोवल, आत्मविश्वास खस्केर राजनीति/नेतृत्वप्रति चरम अविश्वास र घृणा चुलिन्छ ? नागरिक विश्वासबाट च्युतहरुले देश बनाउन कसरी नागरिक परिचालन गर्न सक्छन् ? नागरिक र नेतृत्वबिचको अविश्वास/घृणा र संशय बढाएर भएपनि विदेशी अनुदान नलिई नहुने कारण के हो ?
१४) के तपाई यो विषयमा नागरिकलाई बुझाउन, छलफल गर्न, विमर्श गर्न जरुरी ठान्नुहुन्न ? त्यसो भए तपाई कसको विकास, हित, स्वार्थको लागि काम गर्दै हुनुहुन्छ ?


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।