काठमाडौं ५ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पास वा फेल जे पनि हुनसक्ने बताएका छन् ।
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले लेखेको पुस्तकको आज काठमाडौंमा लोकार्पण गर्दै प्रधानमन्त्री देउवाले पास फेल जे भएपनि यद्यपि आफू एमसीसी परियोजनालाई संसदबाट पारित गराउन लागिपरेको बताएका छन् । ‘एमसीसी पास गराउन हामीले एक मतले निर्णय गरेका हौं । त्यसमा लागिराखेको छु । फेल पनि हुनसक्छ, पास पनि हुनसक्छ थाहा छैन ।’ उनले भने ।
प्रधानमन्त्री देउवाले राष्ट्रहितको पक्षमा बोल्न नेपाली कांग्रेस पार्टी डराउन नहुने भन्दै राम्रो कामको प्रचार गर्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको अन्तर्राष्ट्रिय विश्वास कायम राख्नका लागि कांग्रेसले आफ्नो भूमिका निर्बाह गर्नुपर्ने बताएका छन् ।







