काठमाडौं १८ फागुन । अमेरिकाले नेपाललाई रुसको विपक्षमा उभिन चर्को लबिङ गरेको छ । अन्तराष्ट्रिय ठूलो समूदायलाई रुसको विरुद्धमा उभ्याएर घेराबन्दी गर्ने रणनीति अन्तर्गत अमेरिकाले यस्तो लबिङ गरिरहेको पाइएको हो ।
नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले फोन गरी रुसको विपक्षमा हुने गरी युक्रेनको पक्षमा उभिन दबाब दिएका छन् ।
ब्लिङ्कनले एउटा ट्वीटमार्फत् टेलिफोन संवादबारे जानकारी गराएका छन् । रुसले युक्रेनमाथि गरेको आक्रमण र युक्रेनको सार्वभौमिकता, भौगोलिक अखण्डताका विषयमा दुई देशले गरेको समर्थनबारे कुराकानी भएको ब्लिङ्कनले उल्लेख गरेका छन्।
नेपालले भने विशाल दुई छिमेकी चीन र भारत भन्दा अघि बढेर युक्रेन आक्रमणको विरोध जनाइसकेको छ । युक्रेन आक्रमणको विषयमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा चीन र भारत तथस्त बसेका थिए । ती दुवै देशले अहिलेसम्म आफ्नो पक्षधरता समेत खुलेर देखाएका छैनन् । पञ्चशिलताको सिद्धान्त अवलम्बन गरेको नेपालले भने युद्धरत दुई देशबीच एउटा पक्षको हुने गरी हतारमा उभिएको छ ।








