भविष्यमा काठमाडाैंमा माेनाेरेल हुनैपर्छ : मेयर शाक्य

काठमाडौं २० फागुन । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडाैंमा माेनाेरेल सञ्चालनकाे विकल्प नरहेकाे बताएका छन् । उनले यस विषयमा अध्ययन अघि बढेकाे जनाउँदै भविष्यमा माेनाेरेलमा जानै पर्ने बताएका छन् । उनले सिंहदरबारबाट कर्मचारी खटाएकै कारण प्रदेश सरकार असफल भएको दाबी पनि गरेका छन्। शुक्रबार नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिद्वारा आयोजित महानगर र मिडियाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै शाक्यले उक्त दाबी गरेका हुन्।

संघीयतामा धेरै कुरा पुरा भए पनि प्रशासकीय अधिकृत सिंहदरबारले खटाउँदा प्रदेशदेखि स्थानीय निकायले छिटोछरितो काम गर्न नपाएको उनको गुनासो रह्यो। ‘संघीयतापछि सिंहदरबार गाउँगाउँमा भनेको छ। धेरै काम त घरदैलोमा हामीले पुर्‍यायो,’ मेयर शाक्यले भने, ‘धेरै सुविधा दिए पनि संघीय सरकारले एउटा कुरा छुटायो। अहिले पनि सिंहदरबारले सबै ठाउँमा प्रशासकीय अधिकृत पठाउँछ। प्रदेश सरकार असफल हुनुको कारण पनि यही हो। त्यहाँका मुख्यमन्त्री र मन्त्रीहरु असफल भए। कारण सचिवहरु सिंहदरबारबाट खट्छन्।’

स्थानीय तहको हालत पनि यस्तै भएको उनको भनाई थियो। ‘फर्किँदा सिंहदरबार नै हेर्नुपर्ने भएकोले यतातिर सफल बनाउने भन्दा पनि आफू कसरी सुरक्षित हुने भन्नेमा लाग्छन्। सबैभन्दा कमजोर पाटो भनेको यही हो। महानगरपालिकाकै मान्छे प्रमुख प्रशासकीय अधिकृत हुने हो भने उसले सिंहदरबार फर्कनुपर्दैन।’

शाक्यले मिडियासँग आफ्नो अपेक्षा दुध र पानीको जस्तो भएको बताएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।