काठमाडौँ २९ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गायक प्रकाश सपुतको गीत ‘पीर’मा विरोध गर्नुपर्ने कुरा नरहेको बताएका छन् । उनले प्रकाश सपुत सिर्जनशील कलाकार रहेको तर गीतका लागि गहिरो विषय छनोट गरेको बताए । उनले उक्त गीतलाई एकै ढंगबाट व्याख्या गरिनु नहुने पनि बताए ।

धनगढी विमानस्थलमा सोमबार पत्रकारहरूसँग बोल्दै अध्यक्ष दाहालले भने, ‘गीतकै कारण उत्तेजित हुन पर्दैन । पक्ष-विपक्ष हुन सक्छ । यसलाई सहज रुपमा हेर्नुपर्छ ।’
कलाकार र सर्जकहरुले आफ्नो दृष्टिकोणअनुसार विभिन्न रचना गर्ने भन्दै उनले सपुतको गीतले एउटा विचारको प्रतिबिम्ब गरेको प्रतिक्रिया दिएका हुन् । उनले भने, ‘मानिसहरूले आफ्नो अनुभव, आफ्नो अनुभूतिअनुसार आफ्नो गीत कविता बनाउँछन्, नाटक बनाउँछन् । डिबेट त हुन सक्छ तर माओवादी आन्दोलनको एउटा पाटोको रुपमा कसैले चर्चा गर्‍यो भनेर धेरै हामी आवेगमा आउनुपर्ने म ठान्दिनँ ।’

दाहालले ‘जनयुद्ध’बाट शान्ति प्रकियामा आउनु हुने थियो कि थिएन भनेर पनि बहस भइरहने र यो धेरै वर्षसम्म जारी रहने बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।