नोटबन्दी गर्ने अर्थमन्त्री शर्माको संकेत !

काठमाडौं ४ चैत । अर्थमन्त्री जनार्दन शर्माले घुमाउराे ढंगले नोटबन्दी गर्ने संकेत गरेका छन् । पछिल्ला दिनमा बजारमा नोटबन्दी हुने चर्चाकै बिचमा अर्थमन्त्री शर्माले भने त्यहीँ चर्चालाई थप पुग्ने गरी अभिव्यक्ति दिएका हुन् ।

मन्त्री शर्माले शुक्रबार नागरिक लगानी कोषको ३२ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै पछिल्लो समय पैसा लुकाएर राख्ने प्रवृत्ति झन् बढेको भन्दै उनले त्यस्तो पैसा खोज्न आफू लागि परेको बताएका छन् । मन्त्री शर्माले तरलताको अभाव सृजना गराउन ओछ्यानमुनी वा सिरानमुनी पैसा राख्ने प्रवृत्ति बढेको समेत बताए । ‘आखिर बजारबाट पैसा कहाँ हराइरहेको छ ? कतै सिरानीमुनी र ओछ्यानमुनी त बन्द रहेको छैन भन्ने कुराको खोजीमा म लागेको छु,’ उनले भने, ‘हाम्रो पूँजी निष्क्रिय भएर कतै बसिरहेको त छैन ? यता तिर पनि हामी सबै नागरिकको ध्यान जानुपर्छ ।’

उनले त्यस्तो पैसा कसरी खोजी गर्ने भन्ने स्पष्ट भने खुलाएनन् । बजारमा नोटबन्दीको चर्चा भईरहेको बेला लुकाएको पैसा खोजी गर्नेमा आफू लागि परेको बताउनुले कतै नोटबन्दीमार्फत त्यस्तो पैसा बैंकमा ल्याउन खोजिएको त हैन भनेर एकथरीले विश्लेषण गरेको पाइन्छ ।

उनले क्रिप्टोकरेन्सी, डिजिटल नेटवर्किङ, हाइपर फन्डलगायत नयाँ प्रविधिको दुरुपयोग गरी पूँजी पलायन भइरहेकाले रोक्न संयन्त्र विकास गरिसकेको पनि बताएका छन् । उनले भने, ‘नयाँ विकास भएका विभिन्न प्रविधिहरुको दुरुपयोग गरेर क्यापिटल फ्लाइ हुने प्रक्रिया देखा परेको छ । त्यसलाई नियन्त्रण गर्न विभिन्न संयन्त्र परिचालन भइसकेका छन् ।’

पछिल्लो समय मुलुकले तरलता अभावको समस्या खेप्नेक्रम लम्बिएपछि अर्थ मन्त्रालय पूँजी जुटाउन निरन्तर क्रियाशील भइरहेको उनको भनाई छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।