गठबन्धनद्धारा देशमै पहिलो पटक पालिकामै जुट्याे भागबन्डा सहमति

गुल्मी, २३ चैत । सत्तारुढ पाँच दलले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने गृहकार्य गरिरहँदा गुल्मीको एक गाउँपालिकामा स्थानीय स्तरमै गठबन्धनको उम्मेदवार नै घोषणा गरिएको छ । गुल्मीको मालिका गाउँपालिकामा सत्तारुढ पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का नेतालाई साझा उम्मेदवारको रुपमा घोषणा गरेको हो।

गत स्थानीय तहको निर्वाचनमा एमाले उम्मेदवारले जितेको यस गाउँपालिकामा पाँच दलीय गठबन्धनको साझा उम्मेदवार घोषणासँगै एमालेको पराजय हुने निश्चित जस्तो देखिएको छ ।

मंगलबार गाउँपालिकाको ठूलीचौरमा चुनावी घोषणा सभाको आयोजना गरीसत्तारुढ पाँचदलीय गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रको नेतालाई साझा उम्मेदवार बनाउने पाँच दलीय गठबन्धनले घोषणा गरेको छ । माओवादी केन्द्रका जिल्ला संयोजक बुद्धि जिसीले उम्मेदवारको टुङ्गो नलागे पनि पार्टीका गाउँपालिका अध्यक्ष देविराम अर्यालको नाममा छलफल भइरहेको बताउनु भयो। हाल माओवादी केन्द्र मालिका गाउँपालिकाका अध्यक्षसमेत रहनुभएका अर्याल २०७४ को स्थानीय तह निर्वाचनमा एमालेका उम्मेदवारसँग पराजित हुनुभएको थियो ।

गठबन्धनले पालिका बाँडफाँडको टुङ्गो लगाउन सुरु गरेको र छिट्टै अन्य पालिकाको पनि टुङ्गो लगाएर निर्वाचनमा होमिने बताउनु भयो।गठबन्धनमा सहभागी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त रूपमा चुनावी घोषणा सभा गरी अर्याललाई अध्यक्षमा उठाउने निर्णय गरेको बताइएको छ।गठबन्धनमा भएको सहमतिअनुसार कांग्रेसलाई २० सिट, माओवादीलाई १८ र संघीय समाजवादीलाई २ सिट भाग परेको छ।

माओवादी केन्द्रबाट अर्याललाई अध्यक्षको उम्मेदवार बनाउने सम्भावना बढेको छ भनेगाउँपालिका उपाध्यक्ष भने काँग्रेसको भागमा परेको छ। काँग्रेसले उपाध्यक्षको उम्मेदवार घोषणा गरेको छैन। आठ वडा रहेको मालिका गाउँपालिकामा माओवादी केन्द्रलाई पालिका अध्यक्षसहित दुई वडाअध्यक्ष भाग परेको छ भने कांग्रेसको भागमा उपाध्यक्षसहित ६ वटा वडाअध्यक्ष परेका छन्।

गत स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा एमालेका रितबहादुर थापा विजयी भएका थिए। निर्वाचनमा थापाले४ हजार ४२ मत ल्याएर विजयी भएका थिए भने नेपाली कांग्रेसका ज्ञानबहादुर कार्कीले ३ हजार ४ सय ४७ र माओवादी केन्द्रका अर्यालले २ हजार ४० मत पाएका थिए।‘गत निर्वाचनको मतलाई हेर्दा अहिले एमालेभन्दा गठबन्धनको पक्षमा १५ सयदेखि २ हजार मत धेरै छ, यसरी हेर्दा गठबन्धनका उम्मेदवारको जित सुनिश्चितै छ,’ अर्यालले भन्नुभयो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।