काठमाडौं २४ चैत । बिहीबार कान्तिपुर राष्ट्रिय दैनिकमा ‘अमेरिकाबाट आएको शंकास्पद ४० करोड छुटाउन अर्थमन्त्री नै सक्रिय’ भनेर निक्कै प्राथमिकता दिएर पहिलो पृष्ठमा समाचार छापियो ।
निर्वाचनको मुखमा नै यस्तो समाचार आएपछि विपक्षी दलका अधिकांश नेता कार्यकर्ताले उक्त समाचारको स्क्रिनसट राखेर सामाजिक सञ्जालमा छिन भरमै भाइरल बनाए । बिहीबार दिनभरी नै उक्त समाचारले चर्चा पायो । एकातर्फ नजिकिदो निर्वाचन र अर्कातर्फ देशको आर्थिक अवस्थाका विषयमा विभिन्न ढंगले टिकाटिप्पणी भइरहेको बेला विपक्षी नेता कार्यकर्तालाई सरकार र अर्थमन्त्रीको विरोध गर्न ठूलै हतियार भेटे जस्तै बन्यो ।
दिनभरी टिकाटिप्पणीपछि हामीले यसको सत्यता के कति रहेको छ भनेर पहिल्याउने प्रयास गरेका छौं ।
फ्याक्ट जाँच र निष्कर्ष
अछामको बान्नीगढी जयगढ घर भएका पृथ्वीबहादुर शाहको विदेशबाट आएको भनिएको ४० करोड रुपैयाँ राष्ट्र बैंकले रोकिदिएपछि छुटाउन अर्थमन्त्री जनार्दन शर्मा आफैं अघि सरेको समाचारको सुरुमा नै उल्लेख छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राष्ट्र बैंकले अनुसन्धान गरिरहेको बखत अर्थमन्त्रीले पैसा छुटाउन लिखित निर्देशन दिएकाले विषय झन् गम्भीर भएको भनेर पनि उल्लेख गरिएको छ । बाँकी समाचार यसैको वरिपरी छ ।
– बिहीबार दिउँसो उनै शाहले पत्रकार सम्मेलन गरेर ४० करोड नभएर १२ लाख अमेरिकी डलर मात्र रोक्का भएको जनाएका छन् भने अर्थमन्त्रीका प्रेस विज्ञ अजित अधिकारीले पनि सोही कुरा उल्लेख गरेका छन् । यसबाट ४० करोड नभएर १२ लाख अमेरिकी डलर अर्थात करिब १४ करोड मात्र रोक्का भएको देखिन्छ।
– विभागले अनुसन्धान गर्दा अवैध र गैरकानुनी नदेखिएको उल्लेख गरिसकेकाले समाचारमा भनिएजस्तो उक्त रकमलाई शंस्कास्पद नै भन्ने आधार देखिदैन ।
– शाहले कान्तिपुरले आफूसँग कुनै सम्पर्क नै नगरेको र कल रेकर्ड हेर्न चुनौती दिएका छन् । उनले ६ महिनादेखि पैसा रोक्का नभएको भएर २ वर्षदेखि रोकिएको जनाएका छन् । कान्तिपुरले शाहसँग सम्पर्क नै नगरी उनको भनाई हालेको पाइएको छ ।
– अर्थमन्त्रीले उक्त रकम छुटाउन लिखित निर्देशन दिएको भन्ने विषय उनका प्रेस विज्ञले शाहले आफू अन्यायमा परेको र गल्ती बिना नै आफ्नो व्यवसायको रकम रोक्का भएको भनेर निवेदन दिएपछि सहजिकरण गरेको उल्लेख गरेका छन् । प्राप्त कागजात अनुसार शाहको उक्त विषयमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले नै अनुसन्धान गरेर बैंक खाता रोक्का नगर्न भनिसकेको अवस्था देखिन्छ । त्यति गर्दा पनि उनको खाता रोक्का फुकुवा नभएपछि उनी मन्त्रीको गुहार माग्न पुगेको देखिन्छ ।
– अर्थमन्त्रीलाई आफू मातहतको कुनै निकायबाट अन्याय परेको विषयमा कुनै नागरिकले उजुरी दिनु र अर्थमन्त्रीले त्यस विषयमा चासो देखाउनुलाई अर्थमन्त्रीको हस्तक्षेप भन्न नमिल्ने देखिन्छ तर निवेदन परेपछि अर्थमन्त्रीले यस विषयमा चासाे देखाएकाे भने सत्य पाइयाे ।
निष्कर्ष
समाचार प्रकाशन पछि शाहको भनाई र उनले सार्वजनिक गरेको कागजात अनुसार उनी आफैं पीडित रहेको देखिएको छ भने राष्ट्र बैंकको जुन सिस्टम हो त्यसलाई करेक्शन गर्नुपर्ने देखिन्छ । किनकी शाहले पैसा फुकुवा गर्न दलालीले ३ करोड माग गरेको भनेर सार्वजनिक रुपमा नै अभिव्यक्ति समेत दिएका छन् । अर्थमन्त्रीले निवेदन परेपछि यस विषयमा चासो देखाएको पुष्टि हुन्छ । त्यसैलाई हस्तक्षेप नै भन्ने आधार भने भेटिदैन । यस सम्बन्धित कागजात तल दिइएको छ:
सम्पत्ति शुद्धिकरण विभागले राष्ट्र बैंकलाई बैंक खाता फुकुवा गर्ने सम्बन्धी लेखेको पत्र
पृथ्वीबहादुर शाहले अर्थमन्त्रीलाई लेखेको पत्र
समाचार प्रकाशनपछि मन्त्रालयद्धारा जारी विज्ञप्ति
पृथ्वीबहादुर शाहद्धारा जारी विज्ञप्ति