काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकहरुको आधार दर बढेको छ । अघिल्लो आर्थिक वर्षको ९ महिनाको तुलनामा चालु आर्थिक वर्षको ९ महिनामा बैंकहरुको औसत आधारदर (बेस रेट) ६ बाट ९ प्रतिशत नाघेको छ ।

गत वर्षको चैत मसान्तसम्म २७ वाणिज्य बैंकहरुको औसत बेसरेट ६ दशमलव ९० प्रतिशत रहेकोमा यस वर्षको चैत मसान्तसम्म यो बढेर ९ दशमलव ०९ प्रतिशतमा पुगेको छ । अर्थात् ऋणको ब्याजदर महँगिएको छ ।

कर्जाको व्याजदर निर्धारणमा स्पष्टसँग पहिचान गर्न सकिने तत्वहरु समावेश गरी गणना गरिएको दर नै आधार दर (बेस रेट) हो । बैंक तथा वित्तीय संस्थाहरुको कर्जाको ब्याजदर निर्धारण प्रतिस्पर्धी र पारदर्शी गराउने उद्देश्यले आर्थिक वर्ष २०६९र७० को मौद्रिक नीतिमा पहिलोपटक आधार दर प्रणाली लागू गर्ने उल्लेख गरिएको थियो ।

आधार दर २०६९ सालमै वाणिज्य बैंकमा लागू भएको थियो भने त्यसको एक वर्षपछि २०७० सालदेखि मात्रै विकास बैंक र फाइनान्स कम्पनीहरुमा लागू गरिएको थियो । जसमा कर्जाको जोखिम प्रिमियम अर्थात् जोखिम अनुमानको दर थप गरी ब्याजदर निर्धारण गरिन्छ र यो बैंकबाट कर्जा उपभोग गर्ने ऋणीहरुमा समान रुपले लागू हुन्छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।