महाप्रसाद अधिकारी गभर्नर बनेपछि यसरी बने एमाले केन्द्रीय अर्थ विभागमा ‘एम. अधिकारी’

काठमाडौं । गर्भनर महाप्रसाद अधिकारी नेकपा एमाले अर्थ तथा योजना विभागका सदस्य बनेका छन् ।

एमालेले गभर्नर अधिकारीको नाम भने एम अधिकारी भनेर सार्वजनिक गरेको छ । यसअघि पनि उनी उक्त सदस्यमा रहेका थिए । गभर्नर हुनुपूर्व उनको नाम महाप्रसाद अधिकारी नै भनेर एमालेले सार्वजनिक गर्ने गरेको थियो । २०७३ मा १५ औं नम्बर अर्थ तथा योजना विभागको सदस्यमा उनको नाम थियो । २०७९, २६ असारको अन्तरपार्टी निर्देशनमा भने दोस्रो नम्बरमा एम. अधिकारी भनेर उनको नाम राखिएको छ ।

कुनै पनि पार्टीको सदस्य रहेको व्यक्ति राष्ट्र बैंकको गभर्नर बन्न अयोग्य हुने कानूनी व्यवस्था छ । तर, त्यसविपरीत गभर्नर अधिकारी एमालेको केन्द्रीय विभागकै सदस्य बनेको भन्दै उनको राजीनामा माग भइरहेको हो ।

प्रतिनिधिसभाका सांसदहरुले पनि उनीमाथि छानबिनको माग गरिरहेका छन् । सांसद रेखा शर्माले छानबिनको माग गरेकी छिन् । अन्य सांसदले पनि विरोध जनाएका छन् ।