गौतमश्रीले भन्यो, ‘जायजेथा बेचेर पनि बचत रकम फिर्ता गर्छु’

काठमाडौं । गौतमश्री बहुउद्देशीय सहकारी संस्थाका अध्यक्ष रामबहादुर गौतमले आफ्नो जायजेथा र सम्पत्ति बेचेर भएपनि बचतकर्ताको रकम फिर्ता गर्ने बताएका छन् । मंगलबार गुप्त स्थानबाट विज्ञप्ति जारी गर्दै अध्यक्ष गौतमले रकम फिर्ता गर्न नसकेर भागेको नभई अन्य व्यावसायिक कार्यको लागि भारत गएको बताएका छन् ।

सोमबार नै भारतबाट नेपाल फर्किसकेको र सहकारीको समस्या समाधानका लागि सक्रिय रहेको गौतमले ‘गौतम बिजनेस ग्रुप’ नामको इमेलमार्फत पठाएको विज्ञप्तिमा उल्लेख छ । १,१४५ जना बचतकर्ताले सहकारी विभागमा संस्थाविरुद्ध ठगीको उजुरी गरेको भोलिपल्ट गौतमको विज्ञप्ति सार्वजनिक भएको हो ।