कक्षा १२ को नतिजा हेर्दा कन्फ्युज हुनुभयो ? यो हेर्नुहोस्

काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । यो वर्ष पहिलो पटक लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा प्रकाशन भएको हो ।

प्रकाशित नतिजा अनुसार धेरै जना कन्फ्युज भएको पाइएको छ । यहाँ तपाईले बुझ्ने गरी व्याख्या गर्ने प्रयास गरिएको छ ।तपाईको नतिजा जिपिए देखाएको छ भने तपाई पास हुनु भएको हो । तपाईको कुनै विषयमा पनि एनजी छैन । कुनै विषयमा डि आए पनि पास भएको हो । पास भएपछि तपाईले डि नै ल्याए पनि ग्रेड वृद्धि परीक्षा दिन पाउनुहुन्न । अब ब्याचलर पढ्न पाउनुहुनेछ ।

यस्तै, एउटा एनजी आए पनि तपाईको जीपिए देखिँदैन । त्यो विषयको ग्रेड वृद्धि दिएपछि पास हुनुभयो भने जिपिएसहित पास भएको ग्रेडसिट पाउनुहुनेछ ।

दुई वटा विषयमा एनजी आयो भने पनि जिपिए देखिदैन । ती विषयको ग्रेड वृद्धि दिनुपर्ने हुन्छ । पास भमा जिपिएसहितको ग्रेडसिट पाउनुहुनेछ । तर दुई विषय भन्दा बढीमा एनजी आयो भने तपाईले अब अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्नेछ ।

कति जनाको एनजी आयो ?
राष्ट्रिय परीक्षा बोर्डका अनुसार यो वर्ष कक्षा १२ मा १ लाख ८८ हजार ४१० जना परीक्षाको नतिजा नन् ग्रेडिङमा परेको छ ।
बोर्डका अनुसार एक लाख ३० हजार ८७८ जनाले ग्रेड वृद्धि दिन पाउने छन् । जस अनुसार ५७ हजार ५ सय ३२ विद्यार्थीले ग्रेड वृद्धि परीक्षा समेत दिन नपाउने भएका छन् भने उनीहरुले उच्च शिक्षा अध्ययन गर्न पाउने छैनन् । त्यस्ता परीक्षार्थीले अर्को वर्षको परीक्षामा सामेल हुन पाउने छन् ।

के छ निर्देशिकामा ?
बोर्डले लेटर ग्रेडिङ निर्देशिका, २०७८ पहिलो पटक लागू गरेको हो । निर्देशिकामा ३५ भन्दा कम नम्बरलाई अवर्गीकत अर्थात –नन् ग्रेडेड, एनजी) भनेर व्याख्या गरिएको छ । निर्देशिकाको दफा ७ को २ को ‘क’ मा विषयगत रुपमा आन्तरिक तर्फ सी र सैद्धान्तिकतर्फ डी ग्रेड प्राप्त गर्न नसक्ने विद्यार्थीका लागि मूल प्रमाणपत्र उपलब्ध गराइने छैन भनि उल्लेख छ । यस्तै ‘ग’ मा अग्र अध्ययनका लागि मूल प्रमाणपत्र अनिवार्य हुने र मूल प्रमाणपत्र नलिई अग्र अध्ययन गरेमा समकक्षता प्रदान नगरिने उल्लेख छ ।

‘घ’ मा मूल प्रमाणपत्र प्राप्त गर्न नसकेको विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षामा सलंग्न हुन पाउने र ग्रेड वृद्धि परीक्षामा संलग्न हुने तथा आन्तरिक मूल्यांकनमा सहभागी हुन नसकेका विद्यार्थीको हकमा आन्तरिक तथा प्रयोगात्मक मूल्यांकनको अंक तीन वर्षसम्म कायम रहने व्यवस्था छ ।

यस्तै ‘ङ’ मा दुई विषयभन्दा बढी विषयमा तोकिएको ग्रेड प्राप्त गर्न नसकेमा वा ग्रेड वृद्धि परीक्षामा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका परीक्षार्थी अर्को वर्षको सम्पूर्ण विषयको परीक्षामा संलग्न हुन वा सोही कक्षामा पुनः अध्ययन गर्न पाउने व्यवस्था छ ।