काठमाडौं २७ भदौं । पत्रकार र आश्रित परिवारको अब निःशुल्क रुपमा आँखाको चेकजाँच हुने भएको छ ।
नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेश समिति र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसेज प्रा.लिबीच सोमबार पत्रकार र पत्रकारको परिवारको निःशुल्क आँखा चेकजाँच गर्ने सम्बन्धमा समझदारी भएको हो ।
सम्झौता अनुसार पत्रकारहरुको दृष्टि बचाउने उद्देश्य राखेर उपत्यका प्रदेशको समन्वयमा नियमित रुपमा आई क्याम्प लगायतका कार्यक्रम पनि सञ्चालन गरिने भएको छ ।
‘पत्रकारहरुको दृष्टि बचाउ अभियान’ अन्तर्गत उपत्यका प्रदेश समितिको सिफारिसमा क्रियाशिल पत्रकार तथा सञ्चारकर्मीका साथै उनीहरुका परिवारले समेत निःशुल्क रुपमा उक्त सुविधा पाउने छन् ।
उपत्यका प्रदेशको अनामनगरस्थित कार्यालयमा सोमबार एक कार्यक्रमका बिच सम्झौता पत्र (एमओयू) मा हस्ताक्षर भएको हो । एमओयू हस्ताक्षर कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रोशन पुरीले दुई निकायबीचको समझदारीले अब पत्रकार तथा सञ्चारकर्मी र तिनका आश्रित परिवारले सजिलैसँग आँखाको चेकजाँच गराउन सजिलो भएको बताएका छन् । पत्रकारहरुको दृष्टि बचाउ अभियान कार्यक्रमलाई देशभर नै पुर्याउनुपर्ने उनको भनाई छ ।
उपत्यका प्रदेशका अध्यक्ष श्रीजन झाले अस्पतालसँगको सहकार्यमा अब नियमित रुपमा आई क्याम्पहरु जस्ता कार्यक्रमहरु सञ्चालन गरिने जानकारी दिएका छन् । यस अभियानलाई अन्य प्रदेशहरुसँग पनि समन्वय गरेर विस्तार गर्दै लैजाने उनको भनाई छ ।
अस्पतालका कर्पोरेट म्यानेजर राजीव झाले पत्रकार तथा उनीहरुका परिवारले निःशुल्क आँखाको चेकजाँच तथा निःशुल्क ओपिडी सेवा लिन सक्ने जानकारी दिएका छन् । उनका अनुसार पत्रकार तथा उनका परिवारका सदस्यहरुलाई पनि सर्जरी लगायत सेवामा भने १५ प्रतिशतसम्म छुट दिनेछ ।
कार्यक्रममा उनले आँखालाई महत्व नदिएर नियमित चेकजाँच तथा समयमा नै उपचार नगराउँदा निको हुने कुरा पनि पछि गएर नहुन सक्ने समस्या आउने समेत उल्लेख गरे ।
प्रदेश महासचिव टेनिस रोकाले अभियानले पत्रकारहरुलाई आँखाको चेकजाँच तथा सुरक्षामा सहयोग पुग्ने अपेक्षा व्यक्त गरे ।
एएसजी आँखा अस्पताल नेपाल, भारत र अफ्रिकाको युगाण्डामा कार्यालय रहेको अस्पताल हो । कर्पोरेट म्यानेजर झाका अनुसार भारतमा यस अस्पतालका १ सय ४० वटा शाखा रहेका छन् । नेपालमा पनि शाखा खोल्ने तयारी भइरहेको उनको भनाई छ ।